काठमाडौँ - नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले आज देशैभरका छ हजार ७४३ वडामा वडा सम्मेलन सम्पन्न गरेको छ।
सम्मेलनलाई चुनावी अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ सम्पन्न गरिएको संगठनका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्यनजर गर्दै आज देशभरका वडा सम्मेलन सम्पन्न गरिएको हो।
निर्वाचनका लागि शान्तिपूर्ण एवं भयरहित वातावरण बनाउन वाइसिएलले ‘एक बुथ १०० युथ’को नारा अगाडि सारेको छ।
वाइसिएल नेपालका प्रचार विभाग प्रमुख पुष्प ओलीका अनुसार छठ पर्वका कारण तराईका केही वडावाहेक देशका सवै वडामा सम्मेलन भव्यताका साथ सम्पन्न भएको जानकारी दिए।
सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई आजैदेखि आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने लक्ष्यका साथ चुनावी गठबन्धनमा सहभागी हुन निर्देशन दिइएको छ।
यसअघि, वाम गठबन्धनको पक्षमा रहेका वाइसिएल नेपाल र नेकपा एमाले निकट युवा संघ नेपालको शुक्रबारको संयुक्त बैठकले निर्वाचन सफल बनाउन युवा परिचालन गर्ने निर्णय गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।