काठमाडौं- बादी समुदायको कथामा आधारित २ कृति ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ फिल्ममाथि मुद्दा परेकोमा सर्वोच्च अदालतले संशोधन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।
सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र फिल्म ‘पण्डित बाजेको लौरो’माथि केही महिनाअघि बादी समुदायका अगुवा मीना नेपाली लगायतले मुद्दा दायर गरेका थिए। फिल्मका निर्माता खुमनाराज भण्डारी हुन्।
सोही मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले नेपाल सरकारसहित विभिन्न चार निकायलाई ती कृति संशोधन गरेर मात्र बजारमा ल्याउन भनेको हो। तर फैसलाको पूर्णपाठ भने प्राप्त भएको छैन।
कृतिहरु संशोधन गर्ने बारेमा विस्तृत फैसला प्राप्त भएपछि मात्र भन्न सक्ने देखिन्छ।
न्यायाधीश ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मुद्दा फैसला गर्दै संशोधन गर्न भनेको हो।
बादी समुदायको तर्फबाट मुद्दामा बहस गरेकी अधिवक्ता शशि बस्नेतले बादी समुदायले गरेको माग अनुसार सर्वाेच्चले निर्देशनात्मक आदेश जारी गरेको बताइन्। नेपालीले परमादेशको आदेश माग गर्दै २०७५ असोज ४ गते दायर भएको निवेदनमा सर्वोच्चले फैसला सुनाउँदै संशोधन गर्न भनेको हो।
उक्त आदेशको व्यहोराअनुसार बजारमा रहेका ती पुस्तक र फिल्म तत्कालका लागि रोक्नुपर्ने हुन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।