काठमाडौं– नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमानदारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन्।
सांसद विकले विगत ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन्। मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको प्रसङ्ग उनले स्मरण गराइन्।
नेपाल विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पुर्याएको क्षति अत्यन्तै दुःखद् रहेको उनको भनाइ छ। दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उनले भनिन्, ‘इतिहास नबुझ्नेहरूको शासन क्षणिक हुन्छ, तर सङ्गठन र विचारले मात्र देशलाई दीर्घकालीन दिशा दिन सक्छ। भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गरिएको भनिएको आन्दोलन किन एक्कासि हिंस्रक बन्यो? संसद् भवन घेराउ गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र जनप्रतिनिधिहरूमाथि भौतिक आक्रमण गर्ने काम कसको स्वार्थका लागि थियो?’
लोकतन्त्रको रक्षाका लागि सङ्घर्ष गरेका नेताहरूमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै सांसद विकले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिइन्। वर्तमान सरकारसँग जनादेशलाई संस्थागत गर्ने इमानदारी नभएको जिकिर गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि दलविरोधी अभियानहरू घातक हुने चेतावनी दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।