काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति कडा असन्तुष्टि व्यक्त गर्दै जनताका जल्दाबल्दा मुद्दाहरूमा परिणाममुखी काम गरेर देखाउन चुनौती दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रेमिट्यान्सले धानेको अर्थतन्त्र, युवा पलायन, बढ्दो महँगी र भ्रष्टाचार जस्ता गम्भीर विषयमा सरकारले बेवास्ता गरेको भन्दै आलोचना गरेका हुन्।
प्रमुख सचेतक राईले सरकारले अघि सारेको सुशासनको प्रतिबद्धता केवल फितलो नारामा मात्र सीमित भएको आरोप लगाए। निर्वाचन क्षेत्रका विकास निर्माणका काम अलपत्र परेको र सरकारी विद्यालयको गुणस्तर खस्किएको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको बेथितिप्रति संसद्को ध्यानाकर्षण गराए।
भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबीमाथि प्रश्न उठाउँदै उनले दुईतिहाइ नजिक रहेको शक्ति प्रयोग गरी भ्रष्टाचारीलाई कारबाही गर्न चुनौती दिएका छन्। भ्रष्टाचारीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे।
संसद्मा बोल्दै राईले भने, ‘गिरिबन्धु टी–स्टेट होस् वा वाइड बडी काण्ड, तपाईंहरूले ठुलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो ? पपुलारिटीका लागि मात्र बोल्ने हो कि ?’
सरकारको टालटुले नीतिको विरोध गर्दै उनले अगाडि भने, ‘हामीले पटक–पटक उठाएको फ्रि भिसा र फ्रि टिकटको विषय होस् वा किसानका समस्या, सरकारले केवल टालटुले काम मात्र गरेको छ, आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्, आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन।’
‘जेनजी’ आन्दोलनमाथि सरकारले दमन गरेको भन्दै उनले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाए। सदन बन्द रहेको समयमा सङ्घीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि कुचेष्टा नगर्न सरकारलाई चेतावनी दिँदै उनले यस्ता कदमप्रति आफ्नो दल पूर्ण रूपमा सतर्क र सजग रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।