काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङ बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आज बिहान सप्तरी जिल्लाको राजविराजबाट काठमाडौँतर्फ आइरहेको ना ६ ख १४६७ नंको बस धादिङको गजुरी नजिक बाङ्गेमोडमा दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताए।
प्रधानमन्त्री देउवाले एक शोक सन्देश दिँदै सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।