बार्सिलोना (एजेन्सी)– क्याटलोनियाको संसदले स्पेनबाट बाहिरिने निर्णय गरेको २४ घन्टा नबित्दै स्पेनले त्यहाँको सरकार भंग गर्दै क्याटलोनियाको सम्पूर्ण अधिकार आफू मातहत राखेको छ।
स्पेन सरकारले शनिबार बिहान आधिकारिक गजट सार्वजनिक गर्दै क्याटलोनियाको सरकार बर्खास्त गरेको बताएको हो । क्याटलोनियाको संसदले शुक्रबार राति स्पेनबाट छुट्टिने निर्णय ९० प्रतिशत सांसदको प्रस्तावसहित अनुमोदन गरेको थियो।
स्पेनका प्रधानमन्त्री मारियानो राजोयले क्षेत्रीय संसद भंग गरेको र २१ डिसेम्बरमा नयाँ क्षेत्रीय निर्वाचनको अह्वान गरेका छन् । स्पेनले क्याटलोनियाको सम्पूर्ण अधिकार आफूमा निहित गरेपछि राष्ट्रपति काल्र्स पुइग्डेमोटको अधिकार प्रधानमन्त्री राजोयमा सरेको छ।
स्पेनको यो निर्णय विरुद्ध क्याटलोनियाबाट कुनै आधिकारिक धारणा बाहिर आएको छैन । सरकार बर्खास्त भए पनि क्षेत्रीय प्रहरी भने सक्रिय रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।