आउनुहोस्, तपाईंलाई स्वागत छ
सुप बनाउनुस् मेरो गिदीको
हाँडी बनाउनुस मेरो खप्परको
मिल्छ किमा बनाउनुस दुवै तिघ्राको
जे जे बनाउनु मन छ बनाउनुस्
म त पानीजस्तो सरल मान्छे
मलाई धारहरूले काट्दैनन्
मलाई गोलीहरूले छेड्दैनन्
मलाई हारहरूले गाल्दैनन्
तपाईंलाई जस्तो,
मलाई आशक्तिको भोक लाग्दैन
मलाई मान्छे लुटेर पेट भर्न आउँदैन
ज्यू, तपाईं गर्दै पैतालाहरू चाट्न जान्दिन
हुहुकार गर्दै इज्जत च्यात्न आउँदैन
तपाईंलाई रहर छ भने
बनाउनुस् मेरो सोच थुन्ने झ्यालखाना
मेरो शरीरमा लगाउनुस् बुटहरूको दाग
छिया छिया बनाउनुस् शरीरको मास
जे जे गर्न मन छ गर्नुस्
म त पानी जस्तो सरल मान्छे
मेटाउन सक्छु तपाईंको प्यास
पखाल्न सक्छु तपाईंको इतिहास
बन्न सक्छु तपाईंको हतियार
बदल्न सक्छु तपाईंको लागि आकार
तर
मलाई धारहरूले काट्दैनन्
मलाई गोलिहरुले छेड्दैनन्
मलाई हारहरुले गाल्दैनन
तपाईंलाई जस्तो,
मलाई मुटु दुख्छ कि भन्ने डर छैन
मलाई कसैले जिउँदै निल्ने पिर छैन
मलाई कसैले हत्केलामा खेलाउने शंका छैन
तपाईंलाई रहर नै छ भने
चुलेसिमा काटेर हेर्नुस् मेरो मुटु
गुच्चा खेल्नुस् मेरो आँखाहरू
जुस बनाउनुस् मेरो रगतको
जे जे सक्नुहुन्छ गर्नुस्
म त पानी जस्तो सरल मान्छे
ओरालोहरूमा आफैं लय समात्छु
एकान्तहरूमा एक्लै गड्गडाउँछु
मेरो गति रोक्नेहरू आफैं बगाउँछु
तर
मलाई धारहरूले काट्दैनन्
मलाई गोलीहरूले छेड्दैनन्
मलाई हारहरूले गाल्दैनन्
तपाईंलाई जस्तो,
मलाई सम्बन्धको पासा पल्टाउन आउँदैन
मलाई टाउकोमा टेकेर हिँड्न आउँदैन
मलाई आफैंलाई बेचेर धनी हुन आउँदैन
तपाईंलाई रहरनै छ भने
छिनाल्दिनुस मेरो सासको त्यान्द्रो
फुटाल्दिनुस मेरो सोचिरहने मस्तिष्क
घोचिदिनुस मेरो हिँड्न मन पराउने पाइताला
जे जे सक्न मन छ सक्नुस्
म त पानी जस्तो सरल मान्छे
मलाई मेरो आकार बदल्न आउँछ
मलाई मेरो स्वरुप बदल्न आउँछ
मलाई मेरो गति बदल्न आउँछ
तर
मलाई धारहरूले काट्दैनन्
मलाई गोलीहरूले छेड्दैनन्
मलाई हारहरूले गाल्दैनन्
म त पानी मान्छे
तपाईंकै मर्जी, जे जे गर्नु छ गर्नुस्
मलाई आफू आफू हुँदिन भन्ने कुनै डर छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।