नयाँ दिल्ली (एजेन्सी)– सुपरस्टार रजनीकान्त र अक्षयकुमार अभिनीत मेगा बजेट फिल्म ‘२.०’ को संगीत दुबईमा नयाँ शैलीमा सार्वजनिक गरियो । फिल्मको पोस्टरसहित हेलिकोप्टबाट स्काइ डाइभिङ गर्नेदेखि संगीत निर्देशक एआर रहमानको प्रत्यक्ष प्रसारणले कार्यक्रमलाई रोचक बनाएको थियो।
विश्वको सबैभन्दा अग्लो घर बुर्ज खलिफामा आयोजित संगीत सार्वजनिक कार्यक्रममा रजनीकान्त, अक्षय कुमार, एआर रहमानका साथै फिल्मका अन्य कलाकार पनि सहभागी थिए।
बलिउड फिल्म निर्माता करण जौहरले सञ्चालन गरेको कार्यक्रममा ‘बाहुबली’ का भल्लाल देव अर्थात् अभिनेता राणा दग्गुबती पनि उपस्थित थिए।
शुक्रबार भएको कार्यक्रममा पहिले स्काई डाइभिङमार्फत संगीत सार्वजनिक गरियो । जानकारहरुका अनुसार, संगीत सार्वजनिक गर्न १५ करोड भारु खर्च गरिएको बताइएको छ।
फिल्मको कुल बजेट ४ सय करोड आकलन गरिएको छ । यो रकम अहिलेसम्म एसियाको कुनै पनि देशले फिल्म निर्माणमा खर्च गरेका छैनन् । फिल्मको रिलिज विश्वव्यापी रुपमा ७ हजार स्क्रिनमा गर्ने तयारी भइरहेको छ । फिल्ममा पहिलो पल्ट अक्षय भिलेनको भूमिकामा देखा पर्दैछन् । फिल्म थ्रिडीमा सुट गरिएको छ । फिल्मका निर्देशक एस शंकर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।