काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन्।
हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रवीन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
'यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले वहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो,' प्रधानमन्त्री ओलीले भने, 'वहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो। तर पनि नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने त्यस्तो प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ।'
वाइडबडीका बारेमा रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, 'मलाई दुख लाग्छ कि वहाँ जस्तो कर्मठ,क्रियाशिसल मानिसलाई अनुचित ढंगले ,त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो।'
मन्त्री अधिकारीले नागरिक उडड्यन क्षेत्रमा देखिने गरी असाधरण काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने,धनगढी,बिराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारी कै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
तेह्रथुमको चुहानडांडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर वहाँ त्यस तर्फ गएको प्रधानमन्त्री ओलीले बताए।
'तेह्रथुमको चुहानडांडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ , निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता,अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो।'
ढिलोमा तीन वर्ष भित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताए।
मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहिबार जमर्नीको म्यूनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए।
दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे।
यसैगरी उपसचिब युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट विश्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरु प्नि आफनो आफनो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ।
यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निर्णय समेत गरेको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।