काठमाडौं– अध्यागमन विभागले ४ करोड रुपैयाँको टेन्डरमा सेटिङ गरेको रहस्य खुल्न आएको छ।
विभागले पार्सपोर्ट रिडर, आइरिस स्क्यानर, फिंगर प्रिन्ट स्क्यानरलगायतका समान खरिदमा एक मात्रै कम्पनीको उत्पादन अनुकुल ‘स्पेसिफिकेसन’ तय गरी खरिद प्रक्रिया सुरु गरेको तथ्य फेला परेको हो।
विभागले ६० वटा आइरिस स्क्यानर, ६० वटा फिंगर प्रिन्टर र ८० वटा पासपोर्ड रिडरका लागि साढे २ करोडदेखि ४ करोड रुपैयाँसम्मको लागत अनुमान गर्दै २७ माघमा टेन्डर आव्हान गरेको थियो।
विभागले गरेको टेन्डरमा अहिले आवेदन दिने काम भइरहेको छ।
विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणाली सुधारका लागि भन्दै गरेको ग्लोबल टेन्डरमा जिमाल्टो कम्पनीको उत्पादन मात्रै खरिद गर्ने गरी टेन्डर गरेको फेला परेको छ।
विभागले माघ २७ गते यी समान खरिदका लागि गरेको टेन्डरमा मिलोमतो रहेको भन्दै यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।
उजुरीमा विभागले सार्वजनिक खरिद ऐनविपरीत ‘स्पेसिफिकेसन’ तयार गरी नेदरल्यान्डमा मुख्य कार्यालयको जिमाल्टो कम्पनीको सामान मात्रै खरिद गर्न सकिने गरी टेन्डर गरेको गरिएको दाबी छ।
‘विभागको यो कदम बदनियतपूर्ण खरिद प्रक्रिया हो। यसरी सुरु गरिएको प्रक्रिया सरासर भ्रष्टाचारजन्य क्रियाकलाप हो। यो टेन्डर प्रक्रियालाई रोक्दै राज्य कोषमाथिको दोहन बन्द हुनुपर्छ,’ उजुरीकर्ताले गरेको उजुरीमा उल्लेख छ।
भ्रष्टाचारले मुलुकलाई आक्रान्त बनाएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएर भ्रष्टाचार निवारणमा सफलता हासिल गरिरहेको समयमा राज्यको सेवासुविधा लिंदै आएका सरकारी कर्मचारीबाटै खुल्लमखुला भ्रष्टाचारलाई सहयोग पुग्ने हिसाबले डकुमेन्ट तयार गरिएको समेत उजुरीपत्रमा दाबी गरिएको छ।
विभागले टेन्डर खरिद बोलपत्र तयार गर्दा माग गरेको समानको ‘टेक्निकल स्पेसिफिकेसन’ तय गर्दा अनिवार्य सर्तसहित जिमाल्टो कम्पनीको उत्पादन अनुकुल गराइएकाले यो प्रक्रियाप्रति संसय पैदा भएको जानकारहरुको भनाइ छ।
सामान्यता कुनै पनि समान खरिदका लागि स्पेसिफिकेसन तयार गर्दा सकेसम्म पूर्ण प्रतिस्पर्धामा टेन्डर गर्नु पर्नेमा एउटा कम्पनीको प्रोडक्टलाई आधार बनाएर सर्त तय गरिनु भनेको टेन्डर प्रक्रियामा बदनियत रहेको दाबी उजुरी कर्ताको छ।
विभागले गरेको पासपोर्ट रिडर, आइरिस स्क्यानर, फिंगर प्रिन्ट स्क्यानरमा जिमाल्टो कम्पनीले उत्पादन गर्ने सामानको उचाइ, लम्बाइ, चौडाइ र तौल सत प्रतिशत नै मिल्नेगरी स्पेसिफिकेसन तयारी गरिएका छ।
विभागले यी समानको लागि तयार पारेको बोलपब डकुमेन्टको पेज नम्बर ५६ मा पासपोर्ट रिडरको डाइमेन्सनमा लम्बाइ १९ सेन्टिमिटर वा सोभन्दा कम, चौडाइ १६.२ सेन्टिमिटर वा सोभन्दा कम र उचाइ १५.७ सेन्टिमिटर वा सोभन्दा कम हुने हुने भनी उल्लेख गरेको छ।
यो स्पेसिफिकेसनमा उल्लेख सर्तहरु जमनी, अमेरिकी र जापानी लगायतका कम्पनीहरुले उत्पादन गर्ने प्रोडक्टसँग मेल खाँदैन। यी देशका कम्पनीहरुले उत्पादन गर्ने उल्लेखित समानको स्पेसिफिकेसन फरक–फरक आयाममा हुन्छन्।
‘स्टक क्लिरेन्सको गर्न मिलोमतो’
विमानस्थलमा प्रयोग गर्न भन्दै विभागले खरिद गर्न लागेको आइरिस स्क्यान विश्वमा लोप हुनै लागेको प्रविधिमा उत्पादन भएको समेत उजुरीमा उल्लेख छ। विभागले आँखाको सुरक्षामा अन्तर्राष्ट्रिय मापदन्डभित्र नपरेको गुणस्तहीन समान खरिद गर्दे जिमाल्टोको स्टक उत्पादन खरिद गर्न लागेको उजुरी कर्ताको दाबी छ।
विभागले खरिद गर्न लागेको आइरिस स्क्यानर जिमाल्टो कम्पनीले गत वर्षबाटै उत्पादन गर्न बन्द गरेको छ। तर, उक्त मोडलको स्क्यानर भारतीय बजारमा एक सय ५० पिसभन्दा बढी स्टक रहेको उजुरीकर्ताको दाबी छ।
‘स्टक रहेको समान कम मुल्यमा ल्याएर बढी मूल्यमा टेन्डर हत्याउने खेलमा जिमाल्टो कम्पनीको नेपाल प्रतिनिधि कम्पनी म्याक्स इन्टरनेसनल लागेको हो’, उजुरीमा उल्लेख छ।
गुणस्तरहीन समान विभागलाई भिराउने खेलमा लागेको म्याक्सका मालिक अकबर हुसेन हुन्। हुसेनले अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई रिझाएको दाबी उजुरीकर्ताको पत्रमा उल्लेख छ।
‘विभागका महानिर्देशक पौडेलले म्याक्स कम्पनीका मालिक हुसेको मिलोमतमा टेन्डर डकुमेन्ट तयार पारेको हुन्’, अध्यागमन विभागका एक प्राविधिक कर्मचारीले भने, ‘गुणस्तहीन समान खरिदका लागि टेन्डर डकुमेन्ट तयार गर्दा पूर्ण हस्तक्षेप थियो। प्राविधिक कर्मचारीको कुनै कुरा सुनिएको छैन। खरिद प्रक्रिया सरासर बदनियपूर्ण छ।’
‘नेपालको खरिद प्रक्रियामा आइएसओ प्रमाणितलाई अनिवार्य गरिएको छैन,’ उजुरीमा भनिएको छ, ‘टेन्डर डकुमेन्टमा भाग लिने कम्पनीले अनिवार्य आइएसओ ९०००ः२००८ वा वा यस्तै प्रमाणपत्र लिएको हुनु पर्ने नियम किन उल्लेख गरियो?’
विभागको टेन्डर प्रक्रियामा बदनियत देखिएकाले अख्तियारले स्वच्छ प्रतिस्पर्धाबाट समान खरिदका लागि यो टेन्डर प्रक्रिया रद्ध गराई पुनः नयाँ टेन्डर डकुमेन्ट तयारी गर्दै बोलपत्र गर्नुपर्ने उजुरीकर्ताको माग छ।
के भन्छन् विभागका डिजी ईश्वरराज पौडेल?
पासपोर्ड रिडर, आइइरिस स्क्यानर र फ्रिंगर पिन्टरका लागि भएको टेन्डरमा आवदेन प्रक्रियाको विषयलाई लिएर अख्तियारमा उजुरी परेको सत्य हो।
यसबाट के प्रष्ट हुन्छ भने कुनै पनि राम्रो कामको थालनी गर्नेवित्तिकै बाधाअवरोध गर्नेहरु सक्रिय हुन्छन्। भएको यही हो।
अहिले टेन्डर प्रक्रिया थालनी भएको छ। टेन्डर सूचना प्रकाशन गर्दै इच्छुक कम्पनीहरुको प्रस्ताव लिने काम सुरु भएको छ। कम्पनी छनोट भइसकेको छैन। तर, अहिले नै मिलोमतोमा यो कम्पनीको समान खरिद गर्न लागेको छ भनेर हल्ला गर्नुको कुनै औचित्य छैन।
टेन्डरमा हामीले माग गरेअनुसारको समान दिने इच्छुक कम्पनीहरुको प्रस्तावबाट मूल्यांकन गरी कम्पनी छनोट गरी समान लिने हो। हामीले नेपालको प्रचलित कानुनले दिएको अधिकार भित्र बसेर यी समान खरिदका लागि टेन्डर गरेका हौं।
अध्यागमन भनेको सुरक्षाको हिसाबले अति संवेदनशिल कुरा हो। यस्तो कुरालाई हल्का हिसाबले प्रचार गर्न खोजिएको छ। त्यसमा विभागको आपत्ति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।