पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जली दिन बालवृद्धदेखि युवासम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेका छन्।
विभिन्न स्थानबाट भेला भएका सर्वासाधारण राजनीतिक दलका स्थानीय नेताकार्यकर्ता सरकारी कर्मचारी लगायतले मन्त्री अधिकारीको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
दिवंगत अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिने संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, योगेश भट्टराई, मन्त्रीहरु पद्मा अर्याल, भानुभक्त ढकाल, कांग्रेस नेता चन्द्र भण्डारी लगायत नेता पुगेका थिए।

राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरिसकेपछि सर्वसाधारणका लागि खुला गरिएको हो।
उनको शव अपराह्न पौने १ बजे काठमाडौंको टुँडिखेलबाट पोखरा ल्याइएको हो।
अन्तिम श्रद्धाञ्जलीपछि राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने छ। मन्त्री अधिकारीको दाहसंस्कार पोखराको रामघाटमा हुने तय भएको छ। नगरका विभिन्न स्थानमा शवयात्रा सहित रामघाट पुग्ने र त्यहीँ अन्तिम संस्कार गरिने छ।



ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार नगर परिक्रमासहितको शवयात्रा गरिने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
यसपछि नगर परिक्रमासहित शवयात्रा गरिने तय भएको मुख्यमन्त्री गुरुङले बताए।

पोखरा प्रदर्शनीकेन्द्रबाट सुरु भएको शवयात्रा नयाँ बजार, महेन्द्र पुल, रानीपौवा, हस्पिटल मार्ग हुँदै रामघाट पुग्नेछ। सेती नदी किनार रामघाटमा मन्त्री अधिकारीको अन्तिम संस्कार गरिने रुट तय गरिएको छ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।