एजेन्सी– हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी सफल फिल्मको नाम लिनु पर्दा ‘शोले’ को नाम पहिला आउँछ। रमेश सिप्पीले निर्देशन गरेको यो फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खान जस्ता कलाकारले मुख्य भूमिका निभाएका थिए।
जय, बिरु, बसन्ती, ठाकुर, साम्भा, सुरमा भोपाली, कालिया जस्ता फिल्मका पात्र उतिबेला बहुचर्चित भएका थिए। शोलेका जुन पात्र अत्यधिक चर्चामा रहे, जसलाई आजसम्म पनि स्मरण गरिन्छ, त्यो पात्र थियो गब्बर सिंह।
गब्बर सिंहलाई हिन्दी फिल्मको अहिलेसम्मकै ठूलो खलनायकमध्ये एक मानिन्छ। अमजद खानले यो भूमिका निर्भाह गरेका थिए।

तर, कतिपयलाई अहिलेसम्म पनि थाहा छैन, अमजद खान गब्बर सिंहको भूमिकाका लागि पहिलो रोजाइ थिएनन्, पहिलो रोजाइ त डेनी थिए।
फिल्म बनाउने घोषणा भएपछि अन्य सबै कलाकारको साथमा डेनी पनि देखिएका थिए। तर, पछि उनले फिल्मबाट पछि हट्नु पर्यो।
डेनी त्यतिबेला फिरोज खानको फिल्म ‘धर्मात्मा’ मा पनि काम गरिरहेका थिए। जुन समय शोलेका लागि दिनुपर्ने थियो, त्यही समय धर्मात्मालाई पनि चाहिने भयो। तर, धर्मात्मा पहिले नै साइन गरिसकेको हुनाले डेनी शोलेबाट अलग्गिएका थिए।

डेनी अलग भएपछि फिल्ममा अमजद खानलाई लिइयो। अमजदले गब्बर सिंहको भूमिका अत्यन्तै सफलतापूर्वक निभाए र उनी बलिउडमा स्थापित भए। यो फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान नै बनायो।
पछि डेनीलाई सोधिएको थियो– शोले छोडेकोमा कुनै पछुतो छ? डेनीको जवाफ थियो– त्यो बेलामा मैले लिएको निर्णय एकदम सही थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।