काठमाडौं– एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टिम घोषणा गरिएको छ।
शनिबार घोषणा गरिएको नेपाली टिममा अधिकांश खेलाडी एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप खेलेका छन्।
एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट समूह 'ए' मा नेपालसहित युएई, ओमान, बहराइन र आयोजक किर्गिस्तान गरी पाँच टिम छन्। समूहमा शीर्ष स्थान हात पार्ने टिम एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट हुनेछ। दोस्रो स्थान हात पार्ने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
नेपाली टिम आइतबार साँझ किर्गिस्तान प्रस्थान गर्ने कार्यक्रम छ।
यो पनि : एएफसी यू–१९: युवा फुटबल टिमको तयारी छोटो, लक्ष्य ठूलो
नेपालले पहिलो खेल १४ कात्तिकमा आयोजक किर्गिस्तानसँग खेल्नेछ। नेपालको दोस्रो खेल १६ कात्तिकमा बहराइनसँग, तेस्रो खेल १८ कात्तिकमा युएईसँग तथा चौथो खेल २२ कात्तिकमा ओमानसँग छ।
सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ १० वटा समूहको शीर्ष १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन्। इन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।
नेपाली टिम
अर्पण कार्की, प्रेजेन तामाङ, अभिषेक बराल, विश्वास उदास, असिम भुषाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकास श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बू, अशोक थापा, दिनेश हेम्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, अरिक विष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिष थापा, सोजित गुरुङ।
मुख्य प्रशिक्षक - छिरिङ लोप्साङ गुरुङ
सहायक प्रशिक्षक - पुष्कर शाही
गोलकिपर प्रशिक्षक - मृग्रेन्द्र मिश्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।