धनगढी– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गोदावरी–२ र ४ मा पर्ने वनमा सुदूरपश्चिम प्रदेशको राजधानी बन्न नसक्ने बताएका छन्।
प्रेस युनियन कैलालीले बिहीबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त भन्दैमा गोदावरीमा राजधानी नबन्ने बताएका हुन्।
उनले खाली ठाउँ नरहेको र वन क्षेत्र रहेको हुनाले गोदावरीमा प्रदेशको राजधानी बनाउन नहुने बताए। धनगढीमा सबै संरचना रहेको र नयाँ बनाउन आवश्यक नरहेकोले धनगढी नै राजधानी रहने उनले बताए।
देउवाले नयाँ बनाउने र पैसाको चलखेल गर्ने उद्देश्यले गोदावरीमा राजधानी सार्ने प्रयास गरिएको आरोप लगाए। सडक पनि बनाउन नसकेको भन्दै उनले राजधानी बनाउने पैसाले अरु विकासको काम गर्न सकिने उल्लेख गरे।
सरकारले एक वर्षमा कुनै काम नगरेको पूर्व प्रधानमन्त्री देउवाको आरोप थियो। उनले देख्न लायकको एउटा पनि काम नगरेको भन्दै सरकार फेल भइसकेको टिप्पणी गरे। उनले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको हुनाले संघीयता पनि कमजोर भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।