काठमाडौं- स्मार्ट टेलिकमले शनिबार औपचारिक रुपमा ‘फोर जी’ लन्च गरेको छ। पाँच महिनाअघि दूर सञ्चार प्राधिकरणबाट ‘फोर जी’ सञ्चालन गर्ने लाइसेन्स प्राप्त गरे पनि कानुनी अड्चनका कारण स्मार्ट टेलिकमले तत्कालै यो सेवा सुरुवात गर्न पाएको थिएन।
तर, सर्वोच्च अदालतले स्मार्ट टेलिकमलाई स्वीकृति दिने नेपाल दूर सञ्चार प्राधिकरणको निर्णयलाई सदर गरेपछि कम्पनीले शनिबार अन्नपूर्ण होटलमा कार्यक्रम गरी ‘फोर जी’ सेवा सुरु गरेको जानकारी गराएको हो। यसअघि नेपाल टेलिकम र एनसेलले यस्तो सेवा सञ्चालनमा ल्याएको थियो। सर्वोच्चले सबै टेलिकम कम्पनीलाई पूर्वाधार पूरा गरेमा युनिफाइड लाइसेन्स दिन भनेको थियो। सर्वोच्चको उक्त आदेशपछि टेलिकम कम्पनीहरुले फोर जी सञ्चालनका लागि दूरसञ्चार प्राधिकरणमा निवेदन दिएका थिए। फोर जी सञ्चालन गर्ने स्मार्ट तेस्रो कम्पनी भएको छ।
फोर जी १० मेगाहर्जमा सञ्चालन हुने भएकाले यसको स्पिड थ्री जीभन्दा तीव्र हुने कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले जानकारी दिए। ‘यसको प्रयोगपछि ग्राहकहरुले सहजै जानकारी पाउनुहुनेछ, थ्रि जी र यसको गति,’ उनले पत्रकार सम्मेलनमा भने।
कम्पनीले फोर जी लन्चसँगै ग्राहकहरुलाई नयाँ अफर पनि दिएको छ।
यस्ता छन् अफर-
१. प्रतिसेकेन्ड एक पैसामा कल गर्न सकिने।
२. एक महिना भाइबर र वाट्स एपमा नि:शुल्क कल गर्न सकिने।
३. एक जिबी डाटा २ सय ३५ रुपैयाँमा एक महिनासम्म प्राप्त गर्न सकिने।
४. एक सय ४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने।
५. ८५ रुपैयाँमा ५ सय एमबी डाटा ७ दिनसम्म प्रयोग गर्न सकिने।
६. १५ रुपैयाँमा ७५ एमबी डाटा प्रत्येक दिन प्रयोग गर्न सकिने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।