नयाँ दिल्ली- हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइन्स्टिनले अभिनेत्रीसहित विभिन्न महिलालाई यौन दुर्व्यवहार गरेको खबर सार्वजनिक भएपछि पछिल्लो समय यसबारे निकै चर्चा-परिचर्चा भए । हलिउड र बलिउड फिल्मका अभिनेता इरफान खानले फिल्म उद्योगमा रहेका यौनपिपासु र यौन उत्पीडनबारे भनेका छन्, उनको करिअरमा पनि कामको बदलामा सम्झौता गर्नुपर्ने प्रस्ताव कैयौं पटक आएका छन्।
आफ्नो फिल्म 'करिब करिब सिंगल' को बारेमा गरिएको अनौपचारिक भेटघाटका क्रममा इरफानले भने, 'मलाई कैयौं पटक यस्तो प्रस्ताव वा सीधा संकेत आएको छ, यदि म तिनको साथ सुतेँ भने मलाई काम दिइनेछ । यो प्रस्ताव मलाई पुरुष र महिलाहरु दुवैबाट आएको छ । तर, यस्तो कुरा मसँग पहिले हुन्थे, पछिल्लो समय भएको छैन।'
उनी भन्छन्, 'यस्तो कुरा महिलाहरुलाई बढी हुन्छ । त्यस्तो अवस्थामा तपाईंलाई नाइँ भन्ने अधिकार हुन्छ । तर, जतिबेला बलजफ्ती हुन थाल्छ, त्यसको जति निन्दा गरे पनि कम हुन्छ । कुनै व्यक्ति पटक-पटक यति धेरै मान्छेसँग दुराचार गरिरहेको छ भने त्यसको पर्दाफास गर्नु जरुरी छ।'
इरफानका अनुसार, यौन उत्पीडन आफैंमा एक बिरामी हो, जसले समाजको दुरावस्थालाई दर्शाउँछ । यस्तो समाजमा यौनसम्बन्धी विषयमा कुरै नहुने र यस्तो स्थितिमा बलियो पक्षले अर्को पक्षको शोषण गरिरहने उनी बताउँछन्।
उनी भन्छन्, 'उत्पीडन महत्त्वपूर्ण मुद्दा होइन, बरु दमन गरिनु मुख्य मुद्दा हो । जहाँ मानिसहरुबीच घुलमिल गरेर आफ्नो कुरा भन्ने अनुमति हुँदैन । आफूमाथि भएका घटनाबारे सरकार वा कुनै संस्थाले निर्णय थोपर्ने नभई व्यक्तिगत फैसलाले महत्व राख्छ।'
उनी अभिनीत फिल्म 'करिब करिब सिंगल' नोभेम्बर १० मा रिलिज हुँदै छ । यसपछि उनी विशाल भारद्वाजको नयाँ फिल्ममा व्यस्त हुनेछन् । सो फिल्ममा उनी फेरि दीपिका पादुकोणसँग देखिनेछन् । यसअघि दीपिकासँग उनले 'पीकू' मा काम गरेका थिए। बिबिसी हिन्दी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।