इलाम- भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी लिइरहेकी छिन्।
इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी हात पार्ने गरेकी हुन्। अदुवा प्रशोधनबाट उनले आफ्नो परिवार मात्रै पालेकी छैनन् नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घरसमेत जोड्न सफल भएकी छिन्। यही आम्दानीबाट छोरीलाई काठमाडौँ राखेर पढाइरहेकी छिन्।
२०६८ सालदेखि सामान्य तालिम लिएर अदुवा प्रशोधन थालेकी निरौलाले क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गरेकी छन्। अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै प्रशोधन केन्द्रमै मात्रै मासिक ५ क्विन्टल खपत हुने गरेको उनको भनाइ छ।

'प्रशोधन केन्द्रमा ५ क्विन्टल अदुवा खपत हुन्छ। सबै अदुवा अर्गानिक मात्रै ल्याउने गरेकी छु,' उनले भनिन्। निरौलाले वार्षिक रु ४५ लाख बराबरको अदुवाको परिवार बिक्री गरी रु १८ लाख नाफा कमाएकी छन्।
'व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्,' उनी भन्छिन्, 'त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु।'
'जति बेला मैलै यो उद्यम सुरु गरेँ। त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइनँ,' आफ्नो सुरुवाती समस्याबारे उनले भनिन्, 'राम्रो बजारीकरण पनि नभएको बेला भएकाले अन्य मानिसलाई पनि यसका बारेमा बुझाउन समस्या पर्यो।'
यस्ता वस्तुको माग स्वदेशमा भन्दा पनि विदेशमा ‘हारालुस’ हुने गरेकोमा उनी खुसी छिन्। 'यहाँ त अहिले पनि अदुवाको सर्बत भन्दा मानिसले बुझ्दैनन्। तर बाह्य पर्यटकका लागि भने यही सर्वत राम्रो छ,' निरौला भन्छिन्। यस्ता परिकार इलाम बजार र फिक्कलबाटै बाह्य पर्यटकले खरिद गर्ने गरेका छन्।
जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।