काठमाडौं– गत वर्ष निधन भएका थाइल्यान्डका नरेश भुमिबोल अदूल्यदेजको शुक्रबार निकालिएको शवयात्रामा नेपाली र नेपाली मूलका मानिस पनि सहभागी भएका छन्।
दोस्रो विश्वयुद्धको समयदेखि थाइल्यान्डमा बस्दै आएका नेपाली मूलका मानिसहरु अभिभावक गुमाएको शोकसहित शवयात्रामा सहभागी भएको थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले बताए । भुमिबोलले नेपाली र नेपालीभाषीहरुलाई सम्मान गर्ने गरेकाले आफूहरु शवयात्रामा सहभागी भएको उनले बताए।
भूमिबोलको अन्त्येष्टि शुक्रबार बौद्ध परम्परासहित शाही दरबार ग्रान्ड प्यालेसमा भएको थियो । भूमिबोलले थाइल्यान्डमा लगातार ७० वर्ष शासन गरेका थिए । उनको निधन ८८ वर्षको उमेरमा गत वर्ष अक्टोबर १३ तारिखमा भएको थियो।
थाइ जनता स्वर्गीय राजालाई आधुनिक थाइल्यान्डका निर्माता मान्छन् । उनकै शासनकालमा कृषिमा आधारित थाइल्यान्ड अर्थतन्त्र औद्योगिकीकरणतर्फ अघि बढेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।