काठमाडौं– अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा गाभिएको छ।
प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका अखण्ड पार्टीका कुमार खड्का आफ्ना नेता–कार्यकर्तासहित कांग्रेसमा प्रवेश गरेका हुन्।
पोखरामा शनिबार भएको कार्यक्रममा खड्कालाई कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले स्वागत गरे । खड्का प्रदेश नम्बर ४ मा समानुतिकबाट मुख्यमन्त्रीका दाबेदार हुन्।
कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो।
खड्काको पार्टी सहअस्तित्व, समाजवाद, राष्ट्रिय अखण्डता, सामाजिक सद्भावको नीति लिएर दोस्रो संविधानसभा अगाडि अस्तित्वमा आएको थियो । संविधानसभामा समानुपातिक सांसद भएका खड्का महिला, बालबालिका तथा समाज कल्याण मन्त्री समेत भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।