भरतपुर– चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ सहिदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स सहिदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो।
ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो। ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी उच्च रक्तचापका बिरामी थिए। शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रविनकुमार श्रेष्ठ घाइते भएका छन्। घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्सको तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।