काठमाडौं- त्रिशूलीमा शनिबार बिहान रात्रिबस खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ।
मृतकहरुमा सप्तरीका ६ वर्षीय आदित्य यादव, रमानन्द यादव, नरेश मुखिया, सुशान चौधरी, पार्वती चौधरी, चन्द्ररेखा प्रमणी, चित्रलेखा प्रमणी, सिम्मीकुमारी झा, मञ्जीतकुमार झा, सञ्जीतकुमार झा, चन्द्रावती झा रहेका छन् । यस्तै, सनाखत हुने अन्यमा सिरहाका राज कपुर यादव र भारत विहार मधुवनीकी ममतादेवी ठाकुर रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान ५ बजे धादिङको गजुरी गाउँपालिकास्थित घाटबेँसी मोडबाट त्रिशूली नदीमा खसेको थियो । बसमा जम्मा ५५ यात्रु रहेकोमा १६ जनाको जीवितै उद्धार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए।
घाइते १६ जनामध्ये १४ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई काठमाडौं ल्याइएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
नदीमा अझै केही व्यक्ति हराइरहेकाले सुरक्षाका तीन वटै निकायबाट खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।