गोरखा– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवीय द्वन्द्वका प्रतिनिधिमूलक घटनामा कारबाही गरिने बताएका छन्।
‘साह्रै ठूला मानवीय अपराध भएका छन् भने केही प्रतिनिधिमूलक घटनाहरूलाई कारबाही पनि गर्ने गरेर सामाजिक मेलमिलाप कायम गर्नेतिर हामी अगाडि बढेका छौं,’ मंगलबार गोरखामा आयोजित जनयुद्धका प्रथम सहिदको स्मृति कार्यक्रममा प्रचण्डले भने, ‘म सहिद, बेपत्ता र युद्धद्वारा पीडित परिवार सबैलाई म भन्न चाहन्छु, छिट्टै यो काम टुंगिँदैछ।’
प्रचण्डले सत्य निरुपण र मेलमिलाप तथा बेपत्ता छानबिन आयोेगको काम कछुवा गतिमा रहेको बताए।
उनले सत्य पत्ता लगाउने र मेलमिलाप गराउने गरी शान्ति प्रक्रियाका बाँकी सबै काम टुंग्याइने बताए।
‘त्यतिबेला युद्वमा क्षति भएका सबैलाई परिपूरण दिने र पीडितहरुलाई मलम पट्टी लगाएर मेलमिलाप कायम गर्ने आयोगको काम हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।