काठमाडौं- ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ साेमबार सम्पन्न भएकाे छ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट काठमाडाैंमा सुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ (निभ्दाे मैनबत्ती) ले हात पारेको छ। नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद ५० हजार रुपैयाँसहित उक्त अवार्ड प्रदान गरेका हुन्।
यसैगरी केसीले नै उत्कृष्ट कथा निर्देशकको समेत अवार्ड हात पारेका छन्। उत्कृष्ट स्क्रीन चलचित्र अवार्ड शिवम् अधिकारीद्वारा निर्देशित ‘पञ्चायत’ चलचित्रले प्राप्त गरेको छ। छोटो चलचित्रमध्येबाट शेनाङ्ग ग्याम्जो तामाङद्वारा निर्देशित चलचित्र ‘सुपरमोङ्क’ उत्कृष्ट भएको छ। यस्तै छोटो चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड ‘मदर’ चलचित्रका निर्देशक परिच्छेद सेनले प्राप्त गरेका छन्।
यसैगरी अन्तर्राष्ट्रियतर्फ छोटो चलचित्रमा बङ्गलादेशको ‘मिन अल्याप’ उत्कृष्ट भएको छ। सुवर्ण सेन्जुटी तुल्सीद्वारा निर्देशित उक्त चलचित्रले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ। यस्तै उत्कृष्ट कथा चलचित्र सिङ्गापुरको ‘द ल्याण्ड इमेज’ले प्राप्त गरेको छ।
महोत्सवको समापन अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले महोत्सवले मुलुकको राष्ट्रिय एकता र विविधतालाई जोड्ने बताए।
उनले यस्ता महोत्सवले विभिन्न मुलुकको सांस्कृतिक र कुटनीतिक क्षेत्रलाई नजिक ल्याउन सहयोग पुर्याउने बताउँदै समाजमा कतै नसुनिएका र नदेखिएका कुरालाई चलचित्रले कलाको माध्यमबाट प्रस्फुटन गराउनुपर्ने धारणा व्यक्त गरे।
उपप्रधानमन्त्री पोखरेलले देश र श्रमको सम्मान, आफ्नो संस्कृतिको पहिचान र मुलुकलाई एकतामा बाध्ने खालका चलचित्र हुनुपर्नेमा जोड दिदैं सरकारले कानुन र संरचना निर्माणमा ढिलो नहुने गरी काम गरिरहेको दाबी गरे।
नेपालका लागि बाज्रिलका राजदूत मारिया टेरेसा मेस्कुरा पेसोआले यस्ता महोत्सवले विभिन्न देशको सांस्कृतिक एकतालाई नजिक ल्याउने बताइन्।
५ दिनसम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बाेर्डमा सञ्चालन भएको महोत्सवमा नेपालसहित बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्सलगायत ३० देशका छोटा र लामा चलचित्रले भाग लिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।