बुटवल- यहाँ सञ्चालित तिलोत्तमा गोल्डकपको २१औँ संस्करणको साेमबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई विदेशी पाहुना टिम दाफिन्स एफसी क्यामरुनले १–० को अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको छ।
देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा पनि खेल बराबरी भयो। पुलिसका तेज तामाङको प्रहारलाई दाफिन्सका गोलरक्षकले रोकेपछि ‘सडनडेथ’मा दाफिन्सले उपाधि जित्न सफल भएको हो।
प्रतियोगितामा जीतसँगै विजयी टिम दाफिन्सले ८ लाख ८० हजार नगद, ट्रफी र सिल्ड हात पारेको छ भने उपविजेता पुलिस क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। यस सिजनमा मात्र मनकामना र बुढासुब्बा गोल्ड कप पोल्टामा पारेर हौसिएको दाफिन्स तिलोत्तमा गोल्डकप जितेर ह्याट्रिक गरेकाे छ भने यसपालि खप्तड कप उचालेको पुलिस क्लबले तिलाेत्तमा गाेल्डकपमा लगातार दुई वर्ष दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ।
प्रतियोगिताअन्तर्गत फाइनल खेलमा पुलिसका रवि पासवान बेस्ट फरवार्ड, हेम तामाङ बेस्ट मिड फिल्डर, विक्रम धिमाल बेस्ट डिफेण्डर, अनन्त थापाले उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो घोषित भए। सबैले २५ हजार रुपैयाँका दरले पुरस्कारसमेत हात पारे।
यस्तै प्रतियोगितामा रुपन्देही–११ का आशिष गुरुङ ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भए। उनले एक थान स्कुटर पुरस्कार प्राप्त गरे। राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट लगायतका अतिथिहरुले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।