

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको शहीद स्मारक ‘बी’ डिभिजन लिगको पहिलो चरणका खेल आजदेखि सकिएका छन् ।
पहिलो चरणको खेलपछि समूह ‘ए’बाट दुई र समूह ‘बी’बाट दूई गरी कूल चार क्लब अन्तिम चरणमा छनोट भएका छन्। आज एन्फा मैदानमा भएको खेलमा नयाँवस्ती युवा क्लबलाई ३–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब समूह ‘ए’ को विजेता बन्दै अर्को चरणमा पुगेको छ। समूह ‘ए’ मा सातदोबाटोले ११ अङ्क जोड्दा आरसिटी आठ अङ्कसहित दोस्रो हुँदै अर्को चरण पुगेको छ।
सातदोबाटोका लागि निरज महर्जन, विमल केसी, रमेश कुमार राजवंशीले गोल गरे। नयाँबस्तीका लागि साजन राईले गोल गरेका थिए। आजै भएको अर्को खेलमा खुमलटारले बाँसबारीलाई २–१ ले पराजित ग¥यो । समूह ‘बी’बाट टुसाल ११ अङ्कसहित पहिलो र श्री भगवती १० अङ्क जोडेर दोस्रो हुँदै अन्तिम चरणमा पुगेका छन्।
अब अन्तिम चरणमा चार क्लबबीच लिग खेल हुनेछ। जसमा प्रत्येक क्लबले तीन खेल खेल्नेछन्। यसबाट धेरै अङ्क जोड्ने क्लब च्याम्पियन बन्नेछ । पहिलो चरणको अङ्क अन्तिम चरणमा नजोडिने एन्फाले जनाएको छ । बाह्र ‘बी’ क्लबे सहभागिता नजनाएको उक्त प्रतियोगितामा समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन्।
यस्तै समुह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन्। लिगको विजेताले रु आठ लाख पाउने छ। उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्।
लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए। ‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बि’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो। ‘ए’ डिभिजन लिगसमेत रेलिगेशन बिनाको गरेको एन्फाले ‘बि’ डिभिजन पनि रेलिगेशनबिनाकै गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।