काठमाडौं– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी १९ वर्ष मुनिका खेलाडी सम्मिलित डिपिएल इमर्जिङ स्टार टिम घोषणा गरिएको छ । सोमबार आयोजक धनगढी क्रिकेट एकेडेमीले दक्षिण अफ्रिका भ्रमणमा जाने १५ जना १९ वर्ष मुनिका खेलाडीहरुको नाम घोषणा गरेको हो ।
डिपिएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रुट्स र रायन मरोनको पहलमा डीपीएल इमर्जिङ स्टार्स टिमलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरु छनोट गरिएका हुन् । डिपिएल इमर्जिङ स्टारको टिममा रोहितकुमार पौडेल, रित गौतम, भीम सार्की, कुशल मल्ल, त्रृतराज दास, सुवाश ऐर, सुशील खड्का, कमलसिंह ऐरी छन्। त्यसैगरी रासिद खान, अदिल अन्सारी, दीपेन्द्र रावत, कृष्ण ऐर, पवन सर्राफ, सन्दीप जोरा र खगेन्द्र जैसी रहेका छन् ।
टिम आगामी दशैंपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ । भ्रमणका लागि कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएल र स्पोर्ट्स एडले व्यवस्थापन गर्ने एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए। डिपिएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसीय क्रिकेट खेल्नेछ । खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिएको स्पोर्ट्स एडका अविशेक केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।