काठमाडौं–अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ। सोमबार बैंककमा भएको खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको थियो।
नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्र बनाउन सक्यो।
चीनका लागि झाङ मेई सबैभन्दा बढी ३३ रन जोडिन्। इनिङको अन्तिम बलमा रन आउट हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन्। यस्तै सियुन झुओले पनि १८ रनको योगदान दिइन्। उनले ६१ बलमा कुनै बाउन्ड्री भने प्रहार गर्न सकिनन्। अन्य खेलाडी भने सस्तैमा आउट भए।
बलिङमा नेपालकी सीताराना मगरले ३ विकेट लिइन्।अन्तिम ओभरमा चीनलाई जितका लागि १६ रन चाहिएको स्थितिमा बलिङ गरेकी सीताले १ विकेट लिँदा १० रन खर्चिएकी थिइन्। त्यसअघिका ओभरमा राम्रो बलिङ गरेकी उनले ४ ओभरमा १९ रन दिइन्। कविता कुवँरको नाममा १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ७७ रन जोडेको थियो। नेपालका लागि ओपनर काजल श्रेष्ठले सबैभन्दा बढी १८ रन जोडिन्। उनकी ओपनिङ पार्टनर सीता रानामगरले ११ रन जोडिन् भने बिन्दु रावाले १० रनको योगदान दिइन्। नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालको रनको गति रोक्ने क्रममा चीनकी झाङ मेई र हान लीले २–२ विकेट लिए। वु जुवान, एल ली र एल हाओयीले १–१ विकेट हात पारेका थिए।
यसअघि नेपालले खेलेका चार मध्ये ३ खेलमा जित हात पारेको थियो। नेपालले आइतबार भएको आफ्नो चौथो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा नेपालले दोस्रो स्थानको युएईलाई ७ विकेटले हराएको थियो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो। दोस्रो खेलमा भने नेपाललाई आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको थियो।
जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। नेपालले ५ खेलबाट ८ अंक जोडेको छ। शीर्ष स्थानको थाइल्यान्डको १० अंक छ भने दोस्रो स्थानको युएईको ८ अंक छ। अन्तिम खेलमा युएई र थाइल्यान्डबीच खेल हुँदैछ। सो खेलमा युएई विजयी भएमा नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना बढ्नेछ। तर त्यसका लागि नेपालले बुधबार हुने अन्तिम खेलमा कुवेतलाई फराकिलो अन्तरले पराजित गर्नु पर्नेछ।
छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।