लण्डन– अर्थमन्त्री डा युवराज खतिवडाले नेपाललाई ‘स्वास्थ्य हब’ बनाउनु पर्ने बताएका छन्।
लण्डनस्थित नेपाली दूतावासमा 'नेपालमा लगानीका सम्भावना' विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले नेपालले सुपथ मूल्यमा उत्कृष्ट स्वास्थ्य सेवा दिनसक्ने बताए।
'बैंकक र दिल्ली ‘मेडिकल हब’ हुनसक्छन् भने काठमाडौं किन हुन सक्दैन?' उनले प्रश्न गरे।
आउँदो मार्च २९ र ३० तारिखमा काठमाडौंमा आयोजना गर्न लागिएको लगानी सम्मेलनअघि लण्डन पुगेका मन्त्री खतिवडाले ब्रिटिस लगानीकर्ताहरूलाई नेपालको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र जलस्रोतमा लगानी गर्न आह्वान पनि गरे।
'नेपालमा अहिले राजनीतिक स्थिरता छ र विदेशी लगानीकर्ताहरूलाई एकै दैलोबाट सुविधा उपलब्ध गराउन सरकारले पहल गरिरहेको छु,' उनले भने।
मन्त्री खतिवडाले एक महिनाभित्रै सरकारले लगानीकर्ताहरूलाई एकद्वार सेवा उपलब्ध गराउन थाल्ने प्रतिवद्धता गरे।
नेपालमा विदेशी लगानीकर्ताहरूले फाइल बोकेर धेरै सरकारी कार्यालय धाउनुपर्ने र त्यो क्रममा ठाउँ ठाउँमा घुस खुवाउनुपर्ने अवस्था रहेको भन्ने गुनासो गर्दै आएका छन्।
उनीहरूले पाकिस्तान जस्तो एकै ठाउँबाट लगानीकर्ताहरूलाई सबै सेवा उपलब्ध गराउन माग पनि गर्दै आएका छन्।
मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष नेपालको अर्थतन्त्र झण्डै ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताउँदै लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले निजी सरकारी साझेदारी (पिपिपि) सम्बन्धी कानुन संसदको यसै सत्रबाट पारित हुने पनि बताए। मन्त्री खतिवडाले नेपालमा कार्यरत विदेशी लगानीकर्ताहरूले लगानीको शतप्रतिशतसम्म मुनाफा आर्जन गरिरहेको बताउँदै त्यस्तो मुनाफा विश्वका अन्य मुलुकहरूमा पाउन नसकिने पनि बताएका थिए।
सो अवसरमा बोल्दै ब्रिटिस संसदको माथिल्लो सदन हाउस अफ लर्डस्का सदस्य लर्ड शेखले भारत तथा चीनको बीचमा रहेको नेपालमा लगानी गरेर ती दुई विशाल बजारमा पहुँच पाउन सजिलो हुने बताएका थिए।
त्यस्तै बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपालले खुला, उदार अर्थनीति अपनाएको बताउँदै ब्रिटिस लगानीकर्ताहरूलाई नेपालमा सूचना प्रविधि, बायोटेक्नोलोजी, विद्युत तथा पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए।
‘डुइङ बिजनेश इन नेपाल’ नामक सत्रमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नेपालमा आर्थिकमात्रै नभएर वौद्धिक लगानी भित्र्याउन संघले काम गरिरहेको बताए।
उनले प्रशासनिक बाधा व्यवधान हटाएर लगानी गर्न सहज वातावरण बनाइदिन अर्थमन्त्रीलाई आग्रह पनि गरे।
कार्यक्रममा डिएफआइडीका वरिष्ठ अधिकारीलगायत नेपालमा काम गरिरहेका ब्रिटिस लगानीकर्ताहरूले पनि आफ्नो अनुभव सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।