काठमाडौं- दोस्रो चरणको निर्वाचनका लागि मनोनयन मिति नजिकिएपछि वाम गठबन्धनले सिट बाँडफाँटका लागि अन्तिम कसरत सुरु गरेको छ। शुक्रबार राति अबेरसम्म बसेको बैठक टुंगिन नसकेपछि शनिबार बिहानैदेखि एमालेका वरिष्ठ नेता बामदेव गौतम निवास भैंसेपाटीमा बैठक बसिरहेको छ।
दोस्रो चरणका लागि १६ गते मनोनयन दर्ता गराउनुपर्ने भएकाले उनीहरुले विवादित जिल्लामा उम्मेदवारी टुंग्याउन लागेका हुन्। आजको बैठकले टिकटको अन्तिम किनारा लगाउने एमालेका एक नेताले बताए। 'अधिकांश स्थानमा उम्मेदवारको टुंगो लागिसकेको छ,' उनले भने, 'प्रतिनिधिसभामा ६ स्थान र प्रदेशका केही स्थानमा दुवै पक्षको दाबी देखिएकाले आजै मात्र सहमति हुनेछ।'
नेकपा एमाले र माओवादी केन्द्र दुवैका उम्मेदवारहरुले दाबी गरेपछि दोस्रो चरणमा निर्वाचन हुने ६ स्थानमा विवाद छ।
कार्यदलले उक्त जिल्लामा बाँडफाँट गर्न नसकेपछि टिकट वितरणको जिम्मेवारी दुवै पार्टीका अध्यक्षलाई दिएको थियो। शीर्ष नेतासहितको बैठकले कार्यदलमै विस्तृत छलफल गर्न सुझाव दिएपछि बैठक शुक्रबारबाट सुरु भएको हो। हाल झापा, उदयपुर, चितवन, दाङ, सल्यान, अर्घाखाँची तथा प्रदेश २ का केही जिल्लामा विवाद छ।
यसअघि विवादमा रहेको दाङमा माओवादी नेता कृष्णबहादुर महरालाई दिने सहमति शुक्रबार नै भएको छ। एमाले नेता शंकर पोखरेल ५ नम्बर प्रदेशको मुख्यमन्त्री हुन सहमत भएपछि महराले उक्त क्षेत्र पाउने भएका हुन्। अघिल्लो संविधानसभामा रोल्पाबाट निर्वाचन लडेका महराले यसपटक दाङबाट उठ्न केही समय अघिदेखि नै तयारी गरेका थिए।
माओवादीका बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभामा एक सिट पाउनुपर्ने अडान राखेपछि सल्यानमा पनि टुंगो लाग्न सकेको छैन। सल्यानमा बस्नेतलाई प्रतिनिधिसभामा छोड्न एमाले तयार भए पनि दुवै प्रदेश दिनुपर्ने अडान राखेको थियो। तर, माओवादीले एउटा प्रदेशमा दाबी गरिरहेको छ।
माओवादी नेता राम कार्कीलाई माओवादीले झापामा उठाउन चाहेपछि उक्त क्षेत्रमा पनि विवाद देखिएको थियो।
अर्का नेता रामबहादुर थापालाई चितवन दिनुपर्ने अडानमा माओवादी छ। एमालले नवलपरासीबाट लड्न आग्रह गरे पनि बादलले उक्त क्षेत्रमा आफ्नो पहिचान नभएको भन्दै अस्वीकार गरेपछि विवाद देखिएको थियो। अध्यक्ष पुष्पकमल दाहाल एउटा क्षेत्रबाट उठ्ने भएपछि अर्को क्षेत्र दिन नसकिने एमालेको अडान छ।
यस्तै, अर्घाखाँचीमा टोपबहादुर रायमाझीलाई छोड्ने तर प्रदेशमा सबै सिट आफूले पाउनुपर्ने अडान एमालेले राखेपछि विवाद कायमै छ।
उदयपुरमा एमाले नेता जगन्नाथ खतिवडा र माओवादी नेता हिमाल किराँती दुवैले दाबी गरेपछि उम्मेदवारी टुंगो लाग्न सकेको छैन। पूर्वमन्त्री प्रभु साहले आधाआधा हुनुपर्ने माग राखेपछि रौतहटमा पनि सहमति जुट्न सकेको छैन।
सबै विवाद अन्त्य गरी उम्मेदवार तय हुने र दुवै पार्टीको बैठक राखी पहिलो र दोस्रो चरणको प्रचार अभियानमा लाग्ने एमालेको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।