विराटनगर- वरिष्ठ साहित्यकार एवम् भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ।
विगत एक महिनादेखि अस्वथ्य पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो। उनको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो। मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो।
बालकृष्ण पोखरेलका १ सय १५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए। खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत शब्दकोश आदि उनका चर्चित कृतिहरु हुन्।
बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा मकवानपुर चिसापानीगढीमा विसं १९९० भाद्र कृष्णाष्टमीका दिन पोखरेलको जन्म भएको हो। रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट पनि उनलाई नेपाली साहित्यका क्षेत्रमा चिन्ने गरिएको छ।
पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए। विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गरेका पोखरेलले विसं २०४६ मा अवकास लिएका थिए।
उनी विसं २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यसमेत भएका थिए। पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध रहेका थिए।
उनको पार्थिव शरीरमा स्थानीय साहित्यकार, कवि, पत्रकार, समाजसेवीले श्रद्धा अपर्ण गरिरहेका छन्। उनका एक छोरा र दुई छोरी छन्।
उनको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।