काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा छाइरहेका छन्। नेपाली क्रिकेटमा सुपरस्टार भइसकेका सन्दीप विश्व क्रिकेटमा सफलताको सिढी चढिरहेका छन्। एक वर्षको बीचमा विश्वका अधिकांस क्रिकेट लिग खेलिसकेका सन्दीपले अहिलेले विश्वको युवा क्रिकेट स्टारको छवि बनाइरहेका छन्।
१८ वर्षीय सन्दीपले गत सिजन आइपिएल खेल्दै इतिहास बनाएका थिए। त्यसपछि क्यारेबिया प्रिमियर लिग हुँदै क्यानडाको ग्लोबल टी–२० मा आफ्नो प्रभाव जमाए। लगत्तै अफगानिस्तान प्रिमियर लिग र युएईको टी–१० लिग खेलेका सन्दीपले गत महिना दुई वटा लिग खेले। अस्ट्रेलियाको बिग बास लिग र बंगलादेश प्रिमियर लिगमा खेल्दै सन्दीपले विश्व क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाए।
आइसिसी विश्व–११ टिम समेत परेका सन्दीप हाल युएईमा छन्। पाकिस्तान सुपर लिगका लागि युएईमा रहेका सन्दीपले लाहोर क्वालान्दरबाट दुई खेल खेलिसकेका छन्। दुई खेलमा उनले ४ विकेट लिइसकेका छन्।
शुक्रबार मुल्तान सुल्तान्सविरुद्ध खेल्दै पाकिस्तान सुपर लिगमा डेब्यू गरेका उनले ३ विकेट लिएका थिए। शनिबार भएको क्वेटा ग्लाडिएटर्सविरुद्ध पनि उनले १ विकेट लिए। खेलमा उनले ४ ओभरमा २० रन मात्र खर्चिए। उनले ओपनिङ ब्याट्सम्यान एसन अलीलाई ४० रनमा बोल्ड गरेका थिए। खेलमा उनले ग्लाडिएर्सको रनको गति रोक्न उत्कृष्ट बलिङ गरेका थिए। पाकिस्तान राष्ट्रिय टिमका कप्तान सर्फराज अहमेदसहित उमर अकमललाई समेत गाह्रो पर्ने गरी सन्दीपले बलिङ गरेका थिए।
खेलपछि सन्दीपले आफू अझै पनि सिकिरहेको र यो अनुभवले भविष्यमा अझ राम्रो क्रिकेट खेल्न सहयोग पुग्ने बताएका छन्। 'मेरो लागि यो ठूलो अवसर हो,' सन्दीपले खेलपछि भने,'विश्वका प्रत्येक लिग मेरा लागि अवसर हो। फरक–फरक लिगमा फरक–फरक कन्डिसनमा खेल्दा मलाई धेरै फाइदा पुग्छ।'
शनिबारको खेलमा लाहोर ३ विकेट पराजित भएको थियो। पहिले ब्याटिङ गरेको लाहोरले ७ विकेटको क्षतिमा १ सय ४३ रन जोडेको थियो। खेलमा लाहोरका कप्तान एबीडी भिलियर्सले नटआउट ४५ रन र सन्दीपले नटआउट ५ रन जोडेका थिए।खेलका दौरान डिभिलियर्स घाइते हुँदा लाहोराले स्कोर बढ्न सकेको थिएनन्। १ सय ४४ रनको लक्ष्य ग्लाडियटर्सले अन्तिम बलमा ७ विकेटको क्षतिमा पूरा गरेको थियो।
सन्दीपले खेलमा लाहोरले १५–२० रन बढी जोडेको भए अवस्था फरक हुने प्रतिक्रिया दिए। 'हामीले स्पिनबाट विकेट लिइरहेका थियौ। यदि केहि प्राप्त गर्न केहि प्रयोग गर्नु पर्छ। हामीले स्पिनबाट त्यो पाएका थियौ। तर सर्फराजले उत्कृष्ट इनिङ खेलेर ग्लाडियटर्सलाई जिताए,' सन्दीपले भने। उनले सारजाहमा छोटो बाउन्ड्रि भएकाले बलिङ गर्न सजिलो नभएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।