बार्सिलोना– अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले खेल जीवनको ५०औं ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले सेभिल्लालाई पराजित गरेको छ। बार्सिलोनाले स्पेनिस ला लिगाको खेलमा सेभिल्लालाई ४–२ गोलले हराएको हो।
सेभिल्लाका लागि नाभासले २२ र मार्कोडोले ४२ मिनेटमा गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए।
२६ मिनेटमा पहिलो गोल गरेका मेसीले ६७ मिनेटमा दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए। ८५ मिनेटमा अर्को गोल गर्दा मेसीले खेल जीवनको ५०औं ह्याट्रिक पूरा गरे। बार्सिलोनाका लागि चौथो गोल लुइस सुआरेजले दोस्रो हाफको इन्जुरी मिनेटको तेस्रो मिनेटमा गरेका थिए।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले अंक तालिकामा १० अंकको अग्रता लिन सफल भएको छ। बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४७ र तेस्रो स्थानको रियल म्याड्रिडको ४५ अंक छ।
ह्याट्रिक गरेका मेसीले सेभिल्लाविरुद्ध मात्र ३६ गोल गरिसकेका छन्। ३१ वर्षीय मेसीले जारी सिजनको लिगमा २५ गोल पूरा गर्दा उनी प्रत्येक ७५ मिनेटमा औसत १ गोल गर्न सफल भइसकेका छन्। जारी सिजनको सबै प्रतियोगितमा गरी मेसीले ३२ खेलमा ३३ गोल गरिसकेका छन्। जस मध्ये मेसीले च्याम्पियन्स लिगमा ६ गोल गरेका छन्।
करिअरको ६ सय ५० गोल पूरा गरेका मेसीले बार्सिलोनाका लागि ५ सय ८५ र अर्जेन्टिनाका लागि ६५ गोल गरेका थिए।
मेसीको ह्याट्रिक
च्याम्पियन्स लिग – ८
ला लिगा – ३२
कोपा डेल रे – ३
स्पेनिस सुपर कप– १
अर्जेन्टिना– ६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।