जनकपुर- राजपा नेपालका प्रदेश २ का सांसदहरूले आफ्नै पार्टीको सरकारको कडा आलोचना गरेका छन्।
शुक्रबारदेखि जनकपुरमा सुरु भएको राजपाको प्रदेश स्तरीय बैठकमा सांसदहरूले सरकारमा आफ्ना पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका हुन्।
उनीहरूले प्रदेश सरकारले एक वर्षको कार्यकालमा कुनै सन्तोषजनक काम नगरेको र जनताको काम गर्नुका सट्टा कार्यक्रमहरूमा प्रमुख अतिथि बन्नमै व्यस्त रहेको भन्दै आलोचना गरेका थिए।
बैठकमा सबैभन्दा धेरै राजपाबाट मन्त्री बनेका रामनरेश रायको आलोचना भएको एक सांसदले जानकारी दिए। उनी प्रदेश दुईका उद्योग, पर्यटन तथा वातावरण मन्त्री हुन्।
कार्यालय नगई घरमै बसेर मन्त्रालय चलाएकै र संसद्मा एउटा पनि विधेयक प्रस्तुत गर्न नसकेको भनी उनको आलोचना भएको थियो।
प्रदेश सांसदहरूले जनताको आवश्यकता अनुसारको बजेट विनियोजन नगरिएको र विनियोजित बजेट अनुसारको १० प्रतिशत पनि काम कुनै मन्त्रालयले गर्न नसकेको आरोप समेत लगाए।
बैठकमा गरिएको आलोचना र उठाइएका विभिन्न प्रश्नबारे शनिवार बस्ने बैठकमा मन्त्रीहरूले जवाफ दिनेछन्।
प्रदेश सरकारका कामकारबाही, वर्तमान अवस्था र समस्याबारे बुझ्न राजपा नेपालले प्रदेश २ मा तीन दिने बैठक आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।