विराटनगर– हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ।
केमेष्ट्रीमा स्नातकोत्तर गरी पोखराको अन्नपूर्ण कलेजमा अध्यापन गराउने अर्जुनधारा नगरपालिका–२ का ४३ वर्षीय शरण भट्टराईलाई प्रहरीले झापाको काँकरभिट्टाबाट पक्राउ जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त अभियानमा आरोपी भट्टराईको मोबाइल कल रेकर्डको आधारमा पक्राउ गरिएको प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।
आरोपी भट्टराईले विसं २०६५ चैत ३१ बेलुकी ११ बजे ट्याक्सी चालक बिर्तामोड नगरपालिका–४ का २७ वर्षीय दीपक पाण्डेको हत्या गरी बेलबारी नगरपालिका–१० पूर्व–पश्चिम महेन्द्र रजमार्गको भाउन्ने चोक दक्षिणपट्टीको चौरमा फालेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ।
पुरानो चिनजानको अवस्थामा को १ च ३८५० को मारुती कार झापाबाट इटहरीसम्म जाने भाडा लिई बीच बाटोमा चिसो पेय पदार्थमा नशालु पदार्थ खुवाई बेहोस अवस्थामा चालक पाण्डेको हत्या गरी कार लिई फरार भएको प्रहरीले जनाएको छ।
आरोपी भट्टराई रकमको प्रलोभनमा पाण्डेको हत्या गरेर श्रीमती छोरासहित भारततर्फ फरार रहका थिए।
भारतको आसामलगायत विभिन्न स्थानमा बसोवास गरिरहेका आरोपी भट्टराईलाई हत्याको प्रमाण जोडिएको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए।
भट्टराईलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यानको मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।