जनकपुर– नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारले अपराधी लुकाउन खोजेको कारण देशमा महिला हिंसा बढ्दै गएको आरोप लगाएका छन्।
एक कार्यक्रममा सहभागी हुन शुक्रबार जनकपुरधाममा आएका बेला विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति निधिले सरकारले अपराधी समात्न र दण्डित गर्नुको सट्टा लुकाउन खोजेपछि महिला हिंसामा बृद्धि भएको बताए।
प्रदेश २ मा त पछिल्लो डेढ वर्षमा तीन सयभन्दा बढी महिला हिंसाका घटना भएको उल्लेख गर्दै उनले महिला हिंसा बढनुमा सरकार नै प्रमुख दोषी रहेको आरोप लगाए।
उपसभापति निधिले वर्तमान सरकारलाई महिला हिंसा र हत्या सहितका आपराधिक घटना नियन्त्रण गर्न कांग्रेसले पटक पटक चेतावनी दिँदै आएको उल्लेख गर्दै नियन्त्रण प्रयास नथालिए आगामी दिनमा चरणबद्ध आन्दोलन र संघर्षमा जाने बताए।
कांग्रेसमा कोइराला परिवार हाबी भएको भन्ने एक प्रसंगमा उनले भने, ‘नेपाली कांग्रेसलाई कसैले कब्जा गर्न सक्दैन, नेता र कार्यकर्ताहरुको पार्टी हो र कार्यकर्ताकै बर्चस्व रहिरहन्छ।’
केही दिनअघि कोइराला परिवारका शेखर कोइराला, सुजाता कोइराला र सशांक कोइराला एउटै मञ्चमा सहभागी भएर एकताको सन्देश दिएका थिए।
आगामी कांग्रेस महाधिवेशनमा कोइराला परिवार एक हुने सन्देश दिएपछि कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसप्रति आक्रोश व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।