ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन्।
शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए।
अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका बारेमा छलफल भएको थियो।
त्यसैगरी अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेको अध्यक्ष दाहालको सचिवालले जनाएको छ।
आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न वर्तमान सरकार लागिपरेको बताए।
चार दिवसीय नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए।
राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताए। उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणका रुपमा रहेको धारणा राखेका थिए।
भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।