पटना (एजेन्सी)– भारतको विहार राज्यको विभिन्न ठाउँमा छठ पर्व मनाउने क्रममा २ दिनमा ४० जनाको निधन भएको छ। यसमा २० जनाको घाटमा पानीमा डुबेर मृत्यु भएको छ। बाँकी २० जनाको अपराध र सडक दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ।
समस्तीपुरमा छठ मनाउने क्रममा घाटमा एउटै परिवारको छोरा र छोरीले ज्यान गुमाए। विहारका मुख्यमन्त्री नितिश कुमारले डुबेर निधन हुने प्रति गहिरो दुःख जनाए।
समस्तीपुरको आलमपुर कोदरिया पोखरीमा त्यहीँ गाउँका विजय कुमारका छोरा रवि र छोरी काजलको निधन भएको थियो। घटनाका प्रत्यक्षदर्शीले विहान अर्घ दिन पोखरीमा प्रवेश गरेका दुबै दाजु–बहिनी गहिरो ठाउँमा पुगेका थिए। पहिले बहिनी गहिरो ठाउँमा डुब्न थाले पछि बचाउने क्रममा दाजुको पनि डुबेर मृत्यु भयो।
यस्तै, अररियाको नहर घाटमा पनि एक बच्चा डुबेर वेपत्ता भएका छन्। खाजी कार्य जारी रहेको बताइएको छ। यही घाटमा अर्को युवकको पनि डुबेर मृत्यु भएको थियो।
हाजीपुरको तेरसिया घाटमा पनि एउटा युवकको डुबेर मृत्यु भएको छ। हाजीपुरको मदुरापुर घाटमा डुबेर वेपत्ता भएका एक किशोरको भने खोजी कार्य जारी छ। यही जिल्लाको वाया नदीमा १२ वर्षीय अर्को बच्चा डुबेका थिए। उनको पनि खोजी कार्य तीब्र पारिएको छ।
बाङ्का, सीतामढी, अरवल, समस्तीपुर, भागलपुर, बेगुसरायमा पनि घाटमा डुबेर किशोरहरुको निधन भएको छ। नालन्दामा भने सेल्फी लिने चक्करमा पोखरीमा डुबेर एक बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। मुजफ्फरपुरमा २, कैमुर, मधेपुरा पनि डुबेर मृत्यु भएको घटना आएको छ।
पूर्णियामा छठको पुजा गरेर फर्किने बेला ब्रत बसेकी एक महिलाको निधन भएको प्रहरीले जनाएको छ। मधुबनीको कमला नदीमा डुबेर एउटा बच्चाको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।