एजेन्सी: स्पेनको स्वायत्त प्रदेश क्याटालोनियाको क्षेत्रीय संसदले स्पेनबाट छुट्टिएर स्वतन्त्र हुने घोषणाको पक्षमा मतदान गरेको छ।
क्षेत्रीय संसदले स्पेनबाट स्वतन्त्र हुने पक्षमा ७० मतदान गरेको थियो। विपक्षी १० सांसदले मतदान बहिष्कार गरे।
स्पेनले स्वायत्तता स्थगन गरी केन्द्रको प्रत्यक्ष शासन लगाउने तयारी गरिरहेका बेला क्याटालोनियाको संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेको हो।
स्पेनका प्रधानमन्त्री मारियानो राहोयले क्षेत्रीय संसदमा मतदान हुनुअघि क्याटालोनियामा कानुन, लोकतन्त्र र स्थायीत्वका लागि केन्द्रको प्रत्यक्ष शासन आवश्यक भएको बताएका थिए।
यसै महिनाको सुरुमा क्याटालोनियाले स्पेनबाट स्वतन्त्र हुने÷नहुनेबारे जनमत संग्रह गरेपछि त्यहाँ राजनीतिक संकट सुरु भएको हो।
सरकारले जनमत संग्रहमा मतदान गर्नेमध्ये ९० ले स्वतन्त्रताको पक्षमा मत दिएको दाबी गरेको थियो।
तर स्पेनको सर्वोच्च अदालतले जनमत संग्रह अवैधानिक भएको ठहर गरेपछि प्रहरीले दमन गर्दा ५ सयभन्दा बढी सर्वसाधारण घाइते भएका थिए।
क्याटालोनियाको १ सय ३५ सदस्यीय संसदका ७० जनाले स्वतन्त्रताको अनुमोदन गरेको त्यहाँको सरकारले बताएको छ। विपक्षमा १० मत परेका थिए भने दुई जना अनुपस्थित थिए।
प्रधानमन्त्री राहोयले स्पेनी बासिन्दालाई शान्त रहन आग्रह गरेका छन्।
स्पेनको संसद सिनेटले संविधानको धारा १५५ लागू गर्ने÷नगर्ने सम्बन्धमा मतदान गर्न बाँकी नै छ। यो धाराले सरकारलाई संकटका बेला कुनै पनि प्रदेशमा केन्द्रको प्रत्यक्ष शासन लागू गर्न अधिकार प्रदान गर्छ।
सिनेटले धारा १५५ लागू गर्ने निर्णय गरे स्पेन सरकारले क्याटालोनियाको सरकार भंग गरी त्यहाँको अर्थ, प्रहरी र सञ्चारमाध्यम आफ्नो नियन्त्रणमा लिन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।