सुधिर लामा, ८५, रक्षादलका पूर्व लेफ्ट आउट। २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापनासँगै सुरु भएको लिग फुटबलमा आफ्नो टोलीलाई लगातार तीन पल्ट उपाधि दिलाउन महत्वपूर्ण योगदान गर्ने नेपाल पुलिसका चर्चित खेलाडी। २०१६ साल कार्तिक १५ गतेको एउटा घटनाबाट अझै उद्देलित छन्। कारण, त्यो दिन नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला र राजा महेन्द्र दशरथ रंगशालामा ‘च्यारेटी’ का लागि मैदानमा उत्रिदै थिए।
यो खेल लामाका लागि यसकारण पनि महत्वपूर्ण थियो, राजा महेन्द्रको अनिच्छाका बाबजुद प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेको ५ महिनापछि बिपी तिनै राजा विरुद्ध फुटबल मैदानमा उत्रिदै थिए। त्यति बेला लामा नेपाल पुलिसको सब–इन्स्पेक्टरमा कार्यरत थिए। त्यसैले उनको ‘डिउटी’ नै थियो, खेल अवधिभर रंगशालामा हुन सक्ने गडबडी रोक्ने।
त्यतिबेला राजा महेन्द्र र बिपीबीच फुटबल हुँदैछ भन्ने हल्ला एक साताअघि नै काठमाडौंमा डँडेलो सल्किएझै फैलिसकेको थियो। त्यसैले डिल्लीबजारको चर्चित लप्टनको खाजा पसलदेखि सुन्धाराको तिलरी माइलाको चिया पसलसम्म हरेक दिन यही खेलको विषयमा चर्चा चल्थ्यो। अझ, कलेजमा कंग्रेस समर्थक विद्यार्थी हल्ला गर्थे– बिपीले नराम्ररी हराउँछन, राजालाई।
राजावादीहरूको पनि आफ्नै तर्क थियो– नर (नरशमशेर) र नीर (नीरशमशेर) जस्ता नरेश–११ का खुखार खेलाडी छन्, राजाको टोलीमा। त्यसैले बिपीको हालत पतला हुन्छ।
खेल हुने दिन न्युरोड, ठमेल र डिल्लीबजारका गल्लीहरू सुनसान थिए। त्यति बेला काठमाडौंको जनसंख्या १० हजारभन्दा माथि थिएन्। त्यही पनि करिब १ हजार मानिस त्यो ऐतिहासिक खेल हेर्न दिउँसै रंगशाला पुगिसकेका थिए। त्यो भीडमा एनआरटी क्लबका पूर्व डिफेन्डर डाक्टर समरबहादुर मल्ल पनि थिए।
आउँदो बुधबार यो खेल भएको ५८ बर्ष पुरा हुन लागेको सन्दर्भमा त्यो घटना सम्झिदा अहिले पनि उत्साहित हुने लामा भन्छन्– राजा महेन्द्रका दुई भाई माइला (हिमालय) र कान्छा (बसुन्धरा) २००८ सालमा न्युरोड टिम (एनआरटी)बाट खेलिसकेका थिए। त्यसैले बिपीसँग महाराजधिराज र युवराजहरू पनि खेल्ने रे! भन्दै सबै खेल हेर्न गएका थियौं।’
खेल साँझ ४ बजे सुरु भएको थियो। महेन्द्रको टोलीमा सूवर्ण शमशेर राणा (अर्थमन्त्री), रंग विक्रमशाह (पुलिस प्रमुख), युवराजद्धय हिमालय र बसुन्धरा, शेरबहादुर मल्ल (राजा महेन्द्रका एडिसी), लोकविक्रम शाह (नरेश–११ का गोलरक्षक), नरशमशेर, नीरशमशेर, हरि विक्रम शाह, सुरेन्द्रशमशेर राणा समावेश थिए।
यस्तै, बिपीको टोलीमा होराप्रसाद जोशी (सहायकमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का पहिलो सदस्य–सचिव), तुलसी गिरी (विदेशमन्त्री), भरतशमशेर राणा (गोर्खा दल), जमानसिंह गुरुङ (मन्त्री), डा. त्रिवेणी प्रधान (सहायकमन्त्री), महेश्वरशमशेर राणा (पूर्व अर्थमन्त्री मधुकरशमशेरका पिता), प्रकाशचन्द्र ठाकुर, सुरेन्द्रबहादुर शाह (पूर्व आर्मी प्रमुख), रोम विक्रम थापा (पूर्व पुलिस प्रमुख), धीर विक्रम शाह(पाइलट बबी शाहका पिता) को सहभागिता थियो ।
खेल पूर्व जर्नेल तथा जलश्रोत मन्त्री पदमबहादुर खत्रीले सञ्चालन गरेका थिए।
नेपालमा यतिबेला सम्म ९० मिनेटको खेल हुँदैन्थ्यो। त्यसैले महेन्द्र र बिपीबीचको खेल पनि ६० मिनेटमै सिमित रह्यो। २०१३ सालमा राजा महेन्द्रकै राज्याभिषेकमा फुटबल खेल्न हुने बनाइएको दशरथ रंगशालालाई त्यति बेला राष्ट्रिय रंगशाला भन्ने गरिन्थ्यो।
यहाँ अहिलेजस्तै प्याराफिट बनिसकेको थिएन। त्यसैले डोरीले घेरिएको मैदानमा राजा र प्रधानमन्त्रीलाई आफू नजिकै देखेका दर्शकहरूले संयमितहुँदै ‘हुटिङ’ गरेका थिए।
बिपीले बल पाउँदा लैजा–लैजा, हान–हान भनेर कंग्रेसीहरू खुब हल्ला गर्थे। अझ पछाडि विपक्षी टोलीका खेलाडी आए भने बाहिरबाटै चिच्याउँथे– पछाडि आयो भनेर।
‘महेन्द्रले बल पाउँदा पनि राजा समर्थक दर्शकको यस्तै हल्ला हुँन्थ्यो’, मल्ल सम्झन्छन्।
बिपी र महेन्द्र दुवैले यो खेल पुरा खेलेका थिए। होराप्रसाद जोशी पहिले देखि नै दौडिन माहिर मानिन्थे। त्यसैले एनआरटीबाट पहिले फुटबल खेल्दा उनको नामै घोडा थियो। यही खेल हेर्न होरासँगै रंगशाला पुगेका एनआरटीका अर्का खेलाडी ८० वर्षीय दामोदर सुवाल भन्छन– ‘मलाई त्यतिबेला बिपी र महेन्द्रभन्दा पनि सुवर्णशमशेर दौडिएको देखेर मजा लाग्यो। त्यति ठूलो ज्यान। त्यही पनि सकिनसकी दौडिरहेका थिए।’
बिपीको मन्त्रीमण्डलमा अर्थमन्त्रीजस्तो ‘पावरफुल’ मन्त्रालय पाए पनि यो खेलमा सुवर्णको महेन्द्र–११ बाट खेल्ने निर्णयले त्यहाँ उपस्थित धेरैलाई चकित तुल्याएको थियो। कतिले यसलाई राजा महेन्द्र र सुवर्णको बढ्दो निकट्तासँग पनि जोडेर हेरे।
किनभने २००७ सालमा बिपी कोइरालाकै नेतृत्वमा राणा शाषन फ्याकेर नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना भए पनि बिपीलाई प्रधानमन्त्री हुन नदिन दरबारले ५ जना प्रधानमन्त्रीको प्रयोग गर्यो। तर, त्यो सफल हुन नसकेपछि २०१५ सालमा राजा महेन्द्रले सूवर्णशमशेरलाई नै अगाडि सारेर निर्वाचन गराउनु पर्यो।
यतिबेला दरबारको निश्कर्ष थियो, निर्वाचन भएको खण्डमा कंग्रेसको पराजय निश्चित छ। तर, फागुन ७ गते निर्वाचनको परिणाम सार्वजनिक हुँदा देशभरिको १ सय ४ सिटमध्ये कंग्रेस ७४ स्थानमा विजयी भयो, जुन दुई तिहाई बहुमत थियो। यति बेला पनि बिपीलाई प्रधानमन्त्री हुन नदिन महेन्द्रले विभिन्न बहाना बनाउँदै तीन महिना सपथ ग्रहण कार्यक्रम लम्बाएका थिए।
राजा र प्रधानमन्त्रीको यही तानातानीबीच बिपीले प्रधानमन्त्री पदको सपथग्रहण गर्नु र लगत्तै नरेश–११ र प्रधानमन्त्री–११ बीच फुटबल खेलको आयोजना भएको घटनालाई अहिले पनि धेरैले ‘राजनीतिक हत्कण्डा’ को रुपमा लिन्छन्। मल्ल भन्छन्– ‘भन्नलाई यस खेललाई च्यारेटी भनियो। तर, पैसा उठाएको हामीलाई थाहा छैन। त्यसैले म यसलाई राजनैतिक हत्कण्डा भन्न रुचाउँछु।’
नभन्दै यो खेल भएको १४ महिनापछि नै राजा महेन्द्रले बिपीको निर्वाचित सरकारलाई अपदस्त गरे। त्यतिबेला पनि उनले सुवर्णलाई अपदस्त गर्नु तीन दिनअघि भारत जाने स्विकृति दिएका थिए। अन्य मन्त्री सवै जेल चलान भए।
यी सवै राजनैतिक घटनाका बीच पनि महेन्द्र र बिपीले दशरथ रंगशालामा खेलेको त्यो फुटबल खेललाई पुराना पुस्ताका खेलाडी धेरै अर्थमा याद गर्छन्। यस खेलमा गोर्खा दलका अध्यक्ष भरतशमशेर राणा बिपीको टिमबाट खेल्नु पनि अर्को आश्चर्य थियो। किनभने २००८ सालमा बिपी गृहमन्त्री हुँदा उनले नै बिपीलाई मार्न त्रिपुरेश्वरस्थित मन्त्रीक्वाटरमा मान्छे पठाएका थिए। त्यो घटनामा बिपीले हानेको बन्दुकबाट उनलाई मार्न आउने एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो। पछि उनी नेपाली कंग्रेसमै आवद्ध भए।
राजनीतिमा दरबारबाट जति नै ठूलो हन्डर खाए पनि बिपीले त्यो खेलमा भने राजा महेन्द्रलाई चित ख्वाए। यो खेल प्रधानमन्त्री–११ ले १–० गोलले जित्यो। रमाइलो कुरा, प्रधानमन्त्री–११ का लागि एक मात्र निर्णायक गोल बिपीले नै गरे, त्यो पनि खेलको अन्त्यतिर होराकै पासमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।