काठमाडौं- कांग्रेस नेता नरहरि आचार्यको संस्मरणात्मक पुस्तक 'गणतन्त्रको यात्रा : बन्दी वृत्तान्त' आउने भएको छ।
लामो समय नेपाली राजनीतिमा संलग्न रहेर बौद्धिक राजनीतिज्ञको पहिचान बनाएका आचार्य नेपाली कांग्रेसका नेता मात्र नभएर गणतन्त्रका सुरुवातकालीन अभियन्तासमेत हुन्। कांग्रेसमा र बौद्धिक जगतमा गणतन्त्रको बहस सिर्जना गर्ने र त्यसका लागि माहोल बनाउने सन्दर्भमा आचार्यले दोस्रो जनआन्दोलन सुरु हुनुभन्दा अघिदेखि नै विभिन्न अभियान चलाएका थिए।
२०६१ सालको राजा ज्ञानेन्द्रको 'कू'पछि नेपाली राजनीतिको कोर्स परिवर्तन भयो। धेरै नेता कार्यकर्ताको धरपकड सुरु भयो र बन्दी बनाइयो। यही क्रममा २०६१ माघ २१ गते आचार्यलाई पनि बन्दी बनाइयो। त्यही बन्दी अवस्थामा रहेको बेला आचार्यले टिपोट गरेको वृत्तान्त हो यो पुस्तक।
पुस्तकको सन्दर्भमा आचार्य भन्छन्, 'यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृत्तान्त हो। म बन्दी रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार गर्यो। खासगरी गणतन्त्रको यात्रामा म हिँडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु।'
सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक चैत पहिलो साता बजारमा उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।