काठमाडौं– सांगठनिक एकीकरणको निम्ति सुझाब प्रस्तुत गर्न गठित कार्यदलको म्यादबारे निर्णय लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयकाे बैठक बसिरहेकाे छ। बैठकले कार्यदलकाे म्याद थप्ने/नथप्ने सम्वन्धमासमेत निर्णय लिने बताइएकाे छ।
कार्यदलका सदस्यहरु समेतको उपस्थितिमा बिहीबार सचिवालयको बैठक बसेको थियो।
बैठकमा कार्यदलका सदस्यहरुले कार्यदलले अहिलेसम्म गरेका कामका बारेमा, समस्याको बारेमा, आजको आवश्यकताको बारेमा, प्रतिवेदनका सन्दर्भमा आ-आफ्ना विचारहरु प्रस्तुत गरेका थिए। सदस्यहरुकाे विचार र सुझाबहरुलाई सुनिसकेपछि उनीहरुलाई बैठकबाट बिदा दिएर छुट्टै सचिवालयको बैठकले साेका बारेमा छलफल गरेकाे थियाे। तर, बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज बस्नेगरी स्थगित भएकाे थियाे।
कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए। तर, सचिवालयले साेका बारेमा निर्णय गर्न सकेकाे थिएन।
सचिवालयमा आफ्नो धारणा राखेर बाहिरिएका कार्यदलका सदस्यहरुले एक हप्ता समय थप भए बाँकी काम सम्पन्न गर्ने बताएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयाेजक चेतन अधिकारीका अनुसार बालुवाटारमा बैठक सुरु भइसकेकाे छ।
गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो। उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।