काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले आफ्ना लागि थप एक हप्ताको समय माग गरेको छ।
बिहीबार कार्यदलका सदस्यसहित बसेको सचिवालय बैठकमा बोल्ने कार्यदलका सदस्यहरुले थप समय माग गरेका हुन्।
'कार्यदलका सदस्यहरुले आफ्नो राय दिएका छौं। कार्यदलका प्रायः सबै सदस्यहरुको भनाइ थियो, 'यो बीचमा हामीले कार्य सम्पन्न गर्नुपर्थ्यो', कार्यदल सदस्य योगेश भट्टराईले भने, 'तर, विभिन्न कारणले हुन सकेन। तर, अब छिटो सम्पन्न गर्नको लागि कार्यदललाई एक हप्ताको समय माग गरेका छौं।'
मागिएको समय प्राप्त भयो भने कार्यदललाई दिइएको जिम्मेवारी पूरा गर्दै सिफारिस सहितको प्रतिवेदन बुझाउँछौं भनेका भनेर सदस्यहरुले भनेको भट्टराईले बताए। 'सचिवालयले के निर्णय गर्छ भन्ने कुराले अब कसरी अगाडि बढ्ने भन्ने कुरा निश्चित हुन्छ', उनले भने।
गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो। उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको छ।
'कुनै बेला तीन महिनामा सम्पन्न नभएको काम पनि एक दिनमै पनि हुनसक्छ', थप समय माग्नुको औचित्य खुलाउँदै भट्टराईले भने, 'एक हप्ता समय प्राप्त भयो भने चमत्कारिक ढंगले काम गर्छौं।'
अघिल्लो सचिवालयको बैठकले कार्यदलको सदस्यसहितको बैठक बस्ने निर्णय गरेपछि आज बैठक बसेको थियो।
हाल कार्यदलका सदस्यहरु बाहिरिए पनि सचिवालय बैठक भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।