काठमाडौं- मानिसका आआफ्नै स्वभाव र रुचि हुन्छन्। अभिनेत्री वर्षा सिवाकोटीको पहिलो रुचि नै घुम्नु हो। कतै यात्रामा निस्कने भनेपछि रोमाञ्चित भइहाल्छिन् उनी।
‘यात्रा गर्ने भन्ने बित्तिकै बेग्लै रोमाञ्च हुन्छ। यात्रा भनेको सिक्ने, जान्ने र बुझ्ने प्रयास हो। घुम्न पाए मलाई केही चाहिँदैन’, उनी भन्छिन्।
वर्षाका लागि घुम्नु भनेको ‘स्पट लर्निङ’ हो। किताबमा लेखिएका कुरालाई आफ्नै आँखाले देख्दा र अनुभव गर्न पाउँदा उनलाई निकै राम्रो लाग्छ। उनी सुटिङका क्रममा देश–विदेश थुप्रै ठाउँ घुमेकी छिन्।
‘सुटिङले नयाँ ठाउँ घुम्ने मेरो रहरलाई केही हदसम्म पूरा गरेको छ। कामका लागि नयाँ ठाउँ पुग्दा ध्यान काममा बढी जाने हुनाले यात्राको मजा त्यति आउँदैन तर केही न केही कुरासँग साक्षात्कार हुने मौका जुर्छ’, उनी भन्छिन्।
अभिनेत्री भएकाले यसबाट अभिनयका लागि थुप्रै कुरा सिक्ने मौका पाइने उनको बुझाइ छ। ‘नयाँ ठाउँ पुग्दा त्यहाँको संस्कृति, रहनसहन, स्थानीयवासीसँग भेटघाट हुन्छ। यसले मलाई आफूले अभिनय गर्ने चरित्रको निर्माणमा सहयोग पुर्याउँछ’, उनले भनिन्।
वर्षा प्रायः साथीसँग घुम्न रुचाउँछिन्। ‘घुम्न मलाई ठूलो समूह चाहिँदैन। मन मिल्ने साथी भए पुग्छ। साथी हुँदा यात्रामा बेग्लै मजा हुन्छ। अप्ठेरो पर्दा मद्दत पनि हुन्छ’, उनले भनिन्।
यात्राले तरोताजा बनाउने पनि उनको अनुभव छ। ‘काम गरिरहँदा तनावपूर्ण जीवनलाई केही हदसम्म कम गर्न सकिन्छ’, उनले भनिन्, ‘घुम्ने कामले मेरो आत्मविश्वास बढाएको छ। यसले परिस्थिति र मानिससँग डिल गर्ने क्षमता बढेको छ।’
वर्षालाई नेपालमा मुस्ताङ र विदेशमा अस्ट्रिया घुम्न मन पर्छ।
‘लप्पन–छप्पन’ फिल्मको सुटिङ सकेपछि बेल्जियमबाट अस्ट्रिया जाने बेला उनको प्लेन नै छुटेछ। उनीसँग दुई दिनको मात्र भिसा बाँकी थियो। त्यो घटना सम्झिँदा अहिले पनि उनी जिरिङ्ग हुन्छिन्।
‘साथीहरू फर्किसकेका थिए। नयाँ ठाउँ, नयाँ भाषा, निकै गाह्रो भयो। त्यति बेला मलाई एक्लो महसुस भएको थियो,' उनी भन्छिन्, 'धेरैतिर सम्पर्क गरेर मिलाएँ। यसबाट मैले समस्याबाट आतिने होइन, समाधान कसरी खोज्ने भन्ने पनि त सिकेँ।’
एकपल्ट मुस्ताङबाट फर्किने क्रममा पनि उनी गम्भीर दुर्घटनामा परिन्। सुटिङ ढिला सकियो। रातिको यात्रा अप्ठेरो बाटोमा गाडी दुर्घटनामा पर्यो।
‘धन्न गाडी भित्तातर्फ थियो र बचियो। छेउतिर भएको भए मरिन्थ्यो होला’, सम्झँदा पनि उनलाई डर लाग्छ।
वर्षालाई यात्राको फोटो खिच्न निकै रुचि लाग्छ। विशेषगरी उनी प्रकृति र घटनालाई क्यामेरामा कैद गर्न मन पराउँछिन्।
उनलाई भिडभाड कम भएको स्थानमा घुम्न मन पर्छ। वर्षाको घुम्ने सूचीमा हाल माल्दिभ्स परेको छ। ‘फोटो, भिडियोमा देखेरै म माल्दिभ्स जान लालायित छु। मलाई त्यहाँको बिच र आइल्यान्ड रिसोर्टको मजा लिने रहर छ’, उनी भन्छिन्, ‘ मलाई सकेजति ठाउँ घुम्नुपर्छ भन्ने लाग्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।