पोखरा- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वामपन्थी गठबन्धनले कांग्रेसलाई एकताबद्ध हुन सहयोग पुगेको बताएका छन्।
कास्कीको लेखनाथमा दाहालले वैचारिक आस्थाभित्र रहेर वामपन्थीहरुको तालमेल र एकताको प्रयास गरेको र यसले देशको राजनीतिक स्थिरता र समृद्धिमा सहयोग पुगेको दाबी गरे । उनले वामपन्थी तालमेलले कांग्रेसलाई पनि फाइदा भएको बताए।
'हाम्रो तालमेलपछि कांग्रेसका नेताहरु पनि सक्रिय हुनुभएको छ । कांग्रेसलाई एकताबद्ध हुन सहयोग नै पुगेको छ', अध्यक्ष दाहालले भने।
अब विचार मिल्ने शक्तिहरुको राजनीतिक ध्रुवीकरण र एकताको प्रकिया तीव्र बनेर जाने समेत उनले बताए।
वाम गठबन्धनपछि राजनीतिक वृत्तमा अफवाह फैलिएको भन्दै दाहालले गठबन्धन लोकतान्त्रिक प्रकियाबाटै अघि बढ्ने स्पष्ट पारे।
'कतिपय साथीहरुले लोकतन्त्र नै धरापमा पर्यो, अधिनायकवाद जन्मन्छ, साम्यवाद आई नै सक्यो जस्ता प्रचार गर्न थाल्नुभएको छ । त्यो कुरा बिल्कुलै सत्य होइन', उनले भने, 'जसले जिते पनि संविधानको कार्यान्वयन गर्ने हो, संविधानको दायराभित्रै रहेर राजनीतिक प्रतिस्पर्धा गर्ने हो।’
शुक्रबार नै अध्यक्ष दाहालले माओवादी कास्कीका कार्यकर्तालाई प्रशिक्षण दिँदै वामपन्थी गठबन्धन बलियो बनाएर पार्टी एकताको आधार सुदृढ गर्न निर्देशन दिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।