काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ। अत्तरियाले बुधबार भएको पहिलो क्वालिफायरको खेलमा काठमाडौं गोल्डेन्समाथि ४१ रनको जित हात पारेर अन्तिम २ मा स्थान पक्का गरेको हो।
धनगढीको फाप्ला मैदानमा अत्तरियाले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८.३ ओभरमा ६९ रनमै अलआउट भयो। उसका लागि गौरवतोमारले सबैभन्दा बढी २६ रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले ११–११ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा अत्तरियाका सनी पटेलले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा १८ रन खर्चिए। भुवन कार्की र कमलसिंह ऐरीले २–२ विकेट हात पारे। कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन जोड्यो। अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ५ चौकाको मद्दतमा ३३ रन जोडे। म्यान अफ दि म्याच भएका सनी पटेलले २४ बलमा १ चौका र २ छक्काको मद्दतमा २८ रन जोडे। सुभेन्दु पाण्डेले १६ र जयकिशन कोल्शावालाले १३ रनको योगदान दिए।
बलिङमा काठमाडौंका अंकित दबास र सूर्य तामाङले २–२ विकेट लिए। रासिद खान र योगेन्द्रसिंह कार्कीको नाममा १–१ विकेट रह्यो।
अब काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। बिहीबार महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच एलिमिनेटरको खेल हुनेछ। विजेताले दोस्रो क्वालिफायरमा काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।