कास्की- पोखराको पुरानो र प्रतिष्ठित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन्।
पोखरालाई खेलकूद शहरका रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ। सहिद स्मारक लिग विजेता मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन्। धरान फुटबल क्लब, युनाइटेड सिक्किम भारत, थ्रीस्टार, आयोजक सहारा, डफिन्स फेमिली क्यामरुन र हिमालयन शेर्पा क्लबले समेत प्रतियोगिता खेल्ने निश्चित भएको सहारा क्लब क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए।
'विगत वर्षमा १२ टिम समावेश भए पनि यसपटक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिताको समय १० दिनमात्र उपलब्ध गराएका कारण टिम सङ्ख्या कम भएको हो', उनले भने। उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ। विजेताले ८ लाख १ हजार तथा उपविजेताले ४ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर, उत्कृष्ट डिफेन्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए। सर्वाधिक गोलकर्ता खेलाडीलाई २५ हजार रुपैयाँ र प्रतियोगिता अवधिभर टिकट काटेर अवलोकन गर्ने दर्शकमध्येबाट एक जनालाई एक थान एलजी टेलिभिजन प्रदान गरिनेछ।
२०७४ मा उत्कृष्ट खेल प्रदर्शन गर्ने राष्ट्रिय फुटबल टिमका एक जनालाई ३५ हजार रुपैयाँसहित सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरिनेछ।
सहाराले प्रतियोगिताबाट बचत रकम पोखरा–१७ दोविल्लामा सञ्चालित ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ। देशका विभिन्न जिल्लाका असहाय र गरीब बालबालिकालाई एकेडेमीमा राखेर क्लबले शिक्षाका साथसाथै फुटबल सिकाउँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।