काठमाडौं– चुनावमा राम्रै बहुमत ल्याए पनि माओवादी केन्द्रलगायतका वामपन्थी दलसँग तालमेल गरेको नेकपा एमालेको भागमा सात वटै प्रदेशको मुख्यमन्त्री पर्ने सम्भावना छैन । त्यसमाथि चुनावी नतिजाले उसको दाबेदारी तय गर्नेछ।
तर, एमालेका शीर्ष नेतासँगको कुराकानीमा उसले सात वटै प्रदेशमा मोटामोटी रुपमा भावी मुख्यमन्त्रीका रुपमा यी उम्मेदवारलाई अगाडि सारेको छ।
प्रदेश नम्बर १
भीम आचार्य
आचार्य नेकपा एमालेका प्रभावशाली नेता हुन् । सुनसरी–६ बाट संविधानसभामा निर्वाचित आचार्य एमालेका वरिष्ठ नेता झलनाथ खनाल निकट मानिन्छन् । एमाले सचिव आचार्य पूर्व पर्यटनमन्त्री हुन् । यस पटक सुनसरी २ (ख) बाट उनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेबार बनाइएको छ।
शेरधन राई
राई अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् । पूर्व सञ्चारमन्त्री राईलाई एक नम्बर प्रदेशको मुख्यमन्त्री बनाउने सोचका साथ ओलीले प्रदेशमा उम्मेदवार हुन पठाएका छन् । राई एमाले पोलिटब्युरो सदस्य समेत हुन् । भोजपुर २ नम्बरबाट प्रत्यक्षतर्फ सांसद भएका राई यस पटक भोजपुर (ख) बाट प्रदेशमा उठेका छन् । २५ वर्षको उमेरमा निर्वाचन जितेर चर्चित बनेका राई यस पटक मुख्यमन्त्रीको तयारीका साथ प्रदेशमा झरेका हुन्।
यो पनि पढ्नुहोस्-
यस्ता छन् कांग्रेसले अघि सार्ने भावी मुख्यमन्त्रीका उम्मेदवार
यी हुन् माओवादीबाट मुख्यमन्त्रीका सम्भावित उम्मेदवार
प्रदेश नम्बर २
एमाले कमजोर मानिएको यो प्रदेशमा मुख्यमन्त्री आकांक्षी भने हेभिवेट उम्मेदवारहरु छन्।
सत्यनारायण मण्डल
एमाले स्थायी समिति सदस्य मण्डल प्रदेश नम्बर २ का संयोजक समेत हुन् । स्थानीय तह निर्वाचनको टिकट वितरणमा भने उनी विवादमा आएका थिए । यादव अघिल्लो संविधानसभामा सप्तरीबाट समानुपातिक सांसद भएका थिए।
नागेन्द्र चौधरी
चौधरी एमालेका पोलिटब्युरो सदस्य हुन् । उनी केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत हुन् । उनी प्रदेश नम्बर २ का सह–संयोजक समेत हुन् । उनी उपाध्यक्ष वामदेव गौतम निकट मानिन्छन्।
रघुवीर महासेठ
महासेठ एमाले केन्द्रीय सदस्य हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा धनुषा–४ बाट पराजित भएपछि धनुषा ५ मा भएको उपनिर्वाचनमा विजयी हुँदै सांसद भएका थिए । महासेठ तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा सिंचाइमन्त्री भएका थिए । मुख्यमन्त्रीका लागि दाबी गर्दै आएका यी नेताहरूमध्ये कुनै एकलाई अगाडि सार्ने एमाले तयारी छ।
प्रदेश नम्बर ३
राजेन्द्र पाण्डे
धादिङ–१ बाट प्रत्यक्षमा निर्वाचन जितेका पाण्डे एमालेका प्रभावशाली नेता हुन् । पाण्डे सम्बन्धनका कारण विवादित बनेको मनमोहन मेडिकल कलेजको सञ्चालक हुन् । धादिङबाट प्रतिनिधिसभा निर्वाचनमा जित्ने सम्भावना भएका पाण्डेलाई प्रदेशमा उठाउनुको कारण नै भावी मुख्यमन्त्री बनाउने रहेको एमाले नेताहरुको भनाइ छ । अध्यक्ष केपी ओली, बामदेव गौतम, झलनाथ खनाल र माधव नेपाल सबैसँग सुमधुर सम्बन्ध बनाएका एमालेका एकमात्र नेता हुन् पाण्डे।
अरुण नेपाल
नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका बलिया उम्मेदवार थिए । तर, उक्त क्षेत्र वाम तालमेलका कारण माओवादीका नेता अग्नि सापकोटालाई छोड्नुपरेपछि उनलाई मुख्यमन्त्री बनाउने आश्वासन पार्टीका नेताहरुले दिएका छन् । अघिल्लो संविधानसभामा नेपाल ३२ मतले हालका सञ्चारमन्त्री मोहन बस्नेतसँग पराजित भएका थिए । यस पटक एमाले एक्लै लड्दा समेत जित्ने अवस्था हुँदाहुँदै पछाडि हट्न परेपछि उनले मुख्यमन्त्री माग गरेका थिए । ३ नम्बर प्रदेशमा गठबन्धन राम्रो अवस्थामा रहेकाले उनी भावी मुख्यमन्त्रीको दौडमा अग्रस्थानमा देखिन्छन्।
पशुपति चौलागाईं
दोलाखाबाट राजनीति गर्दै आएका चौलागाईं संविधानसभामा समानुपातिक सदस्य भएका थिए । दोलखाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ टिकट नपाउने अवस्था भएपछि उनलाई प्रदेशमा उठाइने भएको छ । प्रदेशमा चुनिएमा उनी पनि ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका एक प्रतिस्पर्धी हुनेछन्।
प्रदेश नम्बर ४
पृथ्वी सुब्बा गुरुङ
एमालेका सचिव गुरुङ प्रदेश नम्बर ४ लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । पूर्वमन्त्री समेत रहेका गुरुङले प्रतिनिधिसभा छोडेर प्रदेशमा उम्मेदवारी दिएसँगै उनी नै प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने चर्चा सुरु भएको छ । अघिल्लो संविधानसभामा लमजुङ–२ बाट प्रत्यक्षको उम्मेदवार बनेका गुरुङ नेपाली कांग्रेसका नेता चन्द्रबहादुर कुनुवारसँग पराजित भएका थिए । उनी अध्यक्ष ओलीनिकट नेता हुन्।
किरण गुरुङ
गुरुङ एमालेको चार नम्बर प्रदेशका संयोजक हुन् । पूर्वमन्त्री गुरुङ एमालेका स्थायी कमिटी सदस्य समेत हुन् । उनी तनहुँको क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभामा सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस भएका छन् । ०६४ सालको संविधानसभा चुनावमा तनहुँ क्षेत्र नम्बर ३ बाट विजयी भएका गुरुङले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा वनमन्त्रीको जिम्मेवारी पाएका थिए।
प्रदेश नम्बर ५
शंकर पोखरेल
एमाले नेता पोखरेल प्रदेशसभामा वाम गठबन्धनमा साझा उम्मेदवार बनेका छन् । प्रतिनिधिसभामा दाङ क्षेत्र नम्बर २ मा माओवादी नेता कृष्णबहादुर महरालाई ठाउँ छोडेपछि पोखरेल प्रदेशसभामा उठ्ने तय भएको हो ।
यसअघि शीर्ष नेताहरुले प्रतिनिधिसभामै उठ्ने चाहना देखाएपछि प्रदेश ५ को मुख्यमन्त्री उम्मेदवारमा विजयनाथ चौधरीको नाम चर्चामा थियो।
प्रदेश नम्बर ६
माओवादीसँग वाम तालमेल गरेको र माओवादीले पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेशको उम्मेदवार बनाएकाले एमालेबाट यो प्रदेशमा मुख्यमन्त्रीका रुपमा धेरै जनाको चर्चा छैन।
यमलाल कँडेल
कँडेल एमालेका केन्द्रीय सदस्य हुन् । अघिल्लो संविधानसभामा सुर्खेत २ बाट उठेका कँडेल कांग्रेसका उम्मेदवार हृदयराम थानीसँग पराजित भएका थिए । तालमेलका कारण माओवादीले पाउने सम्भावना भए पनि आफ्नो भागमा परेमा कँडेललाई अघि सार्ने एमालेको तयारी छ।
प्रदेश नम्बर ७
कर्णबहादुर थापा
प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्न एमाले नेता थापा प्रदेशसभाको समानुपातिकमा बसेका छन् । ०७० सालको संविधानसभा चुनावमा बाजुराबाट प्रत्यक्षमा जितेका उनलाई पार्टीको नेतृत्व तहले मुख्यमन्त्रीका रुपमा अघि सार्ने संकेत गरेपछि प्रदेशसभामा बसेका हुन् । वाम गठबन्धनबाट पनि प्रदेश ७ को मुख्यमन्त्रीमा थापाको सम्भावना बलियो देखिएको छ।
एमाले उपाध्यक्ष भीम रावल प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । यसैगरी माओवादी केन्द्रका त्यो क्षेत्रका दुई प्रभावशाली नेता खगराज भट्ट र लेखराज भट्ट पनि प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । थापा एमालेको ७ नम्बर प्रदेश सह–संयोजक पनि हुन् । वाम गठबन्धन भएकाले पनि प्रदेश ७ को मुख्यमन्त्री एमालेले नै पाउने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।