काठमाडौँ- विभिन्न पार्टीका नेतृले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन्।
अन्तरपार्टी महिला सञ्जालले आज आयोजना गरेको ‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयक अन्तरक्रियामा उनीहरूले स्थानीय तहमा न्युनतम ५० प्रतिशत, प्रदेशसभामा न्युनतम ४० प्रतिशत र प्रतिनिधिसभामा न्युनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन्।
नेपाली कांग्रेसकी नेत्री एवं नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले महिला सहभागिताको सुनिश्चितताका लागि आफूहरूले दबाब दिँदै आए पनि पार्टी नेतृत्वमा विद्यमान पितृसत्तात्मक सोचका कारण माग पूरा हुन नसकेको बताइन्।
सञ्जालकी उपाध्यक्ष एवं राष्ट्रिय जनता पार्टी नेपालकी नेत्री पुष्पा ठाकुरले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई राजनीतिक दलले कमजोरीका रूपमा लिएको गुनासो गर्दै माग पूरा गर्न आगामी दिनमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइन्।
सञ्जालकी महासचिव एशोदा सुवेदीले आधाभन्दा बढी जनसंख्या भएका महिलाको अधिकार संविधान र अन्य कानुनले सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयन गर्न राजनीतिक नेतृत्वले आनाकानी गर्दै आएको आरोप लगाइन्।
नेकपा (माओवादी केन्द्र) की लक्ष्मी साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मीना भेटवाल, नेकपा (माले) का निलम केसी लगायतले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्तामा महिलाको सहभागिता ज्यादै न्युन भएकोमा चिन्ता व्यक्त गरे। दोस्रो चरणको निर्वाचनका लागि हुने मनोनयनमा महिलाको प्रतिनिधित्व क्षतिपूर्तिसहित सुनिश्चित गर्न पनि उनीहरुले माग गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।