काठमाडौं– सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको समूह विजेता बनेको छ। अत्तरियाले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्समाथि ७ विकेटको जित हात पारेको हो। जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो हार हो।
अब दुई टिमबीच पहिलो क्वालिफायरमा बुधबार प्रतिस्पर्धा हुने भएको छ। तेस्रो स्थानको रुपन्देही च्यालेन्जर्स र चौथो स्थानको महेन्द्रनगर युनाइटेडबीच इलिमिनेटरमा भिडन्त हुनेछ। विराटनगर किंग्स र धनगढी स्टार्स भने समूह चरणबाटै आउट भए।
मंगलबार धनगढीको फाप्ला मैदानमा काठमाडौंले दिएको ७६ रनको झिनो लक्ष्य अत्तरियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन र सन्दीप जोराले ७ रन जोडे। दीपेन्द्रले ११ बलमा ३ चौका हिर्काएका थिए। यस्तै जयकिशन कोल्शावालाले ३३ रनको योगदान दिए। उनले ४२ बलमा ५ चौका हिर्काए। बलिङमा काठमाडौंका ललितनारायण राजवंशी, सूर्य तामाङ र रासिद खानले १–१ विकेट लिए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ७५ रनमै अलआउट भयो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले रनआउट हुनुअघि ३२ रन जोडे। उनले ४९ बलमा २ चौका हिर्काए। अंकित दवास १० रनमा रामनरेश गिरिबाट बोल्ड भए। योगेन्द्रसिंह कार्कीले १३ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने रामनरेश गिरिले २ विकेट हात पारे। सनी पटेल र भुवन कार्कीले १–१ विकेट आफ्नो नाममा लेखाए।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।