काठमाडौं– आगामी प्रदेशसभाको निर्वाचनपछि सात प्रदेशमा मुख्यमन्त्री चयन हुनेछन् । मंसिर १० र २१ गते हुने निर्वाचनपछि उनीहरुको चयन प्रक्रिया सुरु हुनेछ । सात प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न राजनीतिक दलका केही चर्चित र युवा नेताहरु प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन्।
सांसद र मन्त्री समेत भइसकेका केही नेताहरु समेत भावी मुख्यमन्त्रीको दाबेदारीसहित प्रदेशको प्रत्यक्ष र समानुपातिक सूचीमा छन् । एमाले र माओवादीबीच चुनावमा ६० र ४० प्रतिशत भागबन्डा गर्ने सहमति भएपछि केही प्रदेशमा माओवादीले त्यसखालको तयारी गरेको देखिन्छ।
माओवादीका केही प्रभावशाली नेताहरुसँगको कुराकानी अनुसार आगामी निर्वाचनमा मुख्यमन्त्रीको सम्भावना बोकेका केही अनुहार यस्ता छन्:
प्रदेश १
गोपाल किराँती
०६४ सालमा भएको संविधानसभाको पहिलो चुनावमा गृहजिल्ला सोलुखुम्बुबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बलबहादुर केसीलाई पराजित गरेर किराँती सभासद चुनिएका थिए । तर, ०७० सालको चुनावमा भने उनी केपी ओली निर्वाचित क्षेत्र झापा ७ मा तेस्रा भएका थिए।
किराँती ०६५ सालमा गठन भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारमा संघीय मामिला राज्यपुनर्संरचना तथा संविधानसभा मन्त्री भएका थिए । त्यस्तै, ०६८ सालमा बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री भएका थिए।
किराँतीले प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारी थालेका छन् । तर, परिस्थिति बदलिएपछि के गर्लान् भन्नेमा धेरैको चासो छ । कारण, माओवादी र एमालेबीचको गठबन्धनलाई उनले रुचाएका छैनन् । उनी चुनावपछि पार्टीलाई पुनर्गठन गर्ने बताउन थालेका छन्।
इन्द्र आङ्बो
पाँचथर (ख) बाट प्रदेशसभाको उम्मेदवार भएका आङ्बो पनि मुख्यमन्त्रीका दाबेदार हुन् । उनी केन्द्रीय सचिवालयमा छन् । गोपाल किराँती एकता प्रक्रियाबाट बाहिरिएपछि उनी मुख्यमन्त्रीको दाबेदार हुनसक्ने बताउँछन्।
टंक आङबुहाङ
आङबुहाङ माओवादी केन्द्रबाट ताप्लेजुङ १ (ख) बाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । ताप्लेजुङ उनको गृहजिल्ला हो । उनी ०६३ सालमा अन्तरिम व्यवस्थापिका– संसदको सदस्य बनेका थिए।
यो पनि पढ्नुहोस्-
यस्ता छन् कांग्रेसले अघि सार्ने भावी मुख्यमन्त्रीका उम्मेदवार
एमालेबाट भावी मुख्यमन्त्रीका दाबेदार यस्ता छन्
प्रदेश २
मातृका यादव
पूर्वमन्त्री यादवलाई प्रदेश २ मा माओवादीका मुख्यमन्त्रीको रुपमा हेरिएको छ । गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकार र प्रचण्ड नेतृत्वको सरकारमा उनी मन्त्री बनेका थिए । तर, तत्कालीन नेकपा माओवादी र एकता केन्द्र मशालबीच पार्टी एकता भएपछि बनेको एकीकृत नेकपा माओवादीतिर नगई यादव पुरानै पार्टीमा रहेका थिए । तर, अघिल्लो वर्ष विभाजित माओवादी घटकहरुको एकता भएर नेकपा माओवादी केन्द्र बनेपछि उनी प्रचण्ड नेतृत्वको माओवादीमा फर्किए।
यादव मुख्यमन्त्रीको सुनिश्चितताको सर्तमा मात्रै प्रदेशसभाको उम्मेदवार बन्न लागेका हुन् । उनी प्रदेश र प्रतिनिधिसभा दुवैका लागि सिफारिस भएका छन्।
उर्मिला अर्याल
पहिले नेकपा एमालेकी पोलिटब्युरो सदस्य रहेकी अर्याल ४ वर्षअघि माओवादी प्रवेश गरेकी हुन् । गृहजिल्ला पर्सा रहेकी उनी पूर्वमन्त्री समेत हुन् । उनी दोस्रो जनआन्दोलनपछि गठित सरकारमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री तथा ०६८ सालमा स्थानीय विकासमन्त्री बनेकी थिइन् । यस पटक माओवादीका तर्फबाट प्रदेश २ को मुख्यमन्त्रीका लागि उनको नाम पनि चर्चामा छ।
प्रदेश ३
शालिकराम जमरकट्टेल
०६४ को निर्वाचनमा एमाले नेता राजेन्द्र पाण्डेलाई पराजित गरी संविधानसभामा पुगेका जमरकट्टेल ०७० सालको चुनावमा पाण्डेसँगै पराजित भएका थिए । उनी यस पटक धादिङ १ (ख) बाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका छन् । ०६३ मा माओवादीका तर्फबाट व्यवस्थापिका संसदमा पठाइएका ७३ मध्ये जमरकटेल पनि एक थिए।
दावा तामाङ
तामाङ पहिलो संविधानसभाको चुनावमा सिन्धुपाल्चोक ३ मा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणलाई पराजित गरी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले दोस्रो संविधानसभाको चुनावमा भने भाग लिएनन् । यस पटक उनी प्रदेशसभाका लागि प्रतिस्पर्धा गर्दै छन् । पार्टी विभाजन हुँदा मोहन वैद्यतिर गएका उनी पछि पुन: माओवादीमा फर्किएका हुन्।
प्रदेश ४
यो प्रदेश माओवादी सबैभन्दा कमजोर प्रभाव रहेको क्षेत्र हो । पहिलो चरण अन्तर्गत मंसिर १० मा हुन लागेको चुनावमा पनि पार्टीले मुख्यमन्त्रीको लागि उम्मेदवार चयनमा यो प्रदेशमा खासै प्राथमिकता दिएको छैन।
प्रदेश ५
कुलबहादुर केसी 'सोनाम'
रोल्पा गृहजिल्ला भएका सोनाम पार्टी विभाजनसँगै मोहन वैद्यले नेतृत्व गरेका पार्टीतिर गएका थिए । तर, बादल समूहको माओवादी फिर्तीसँगै उनी पनि मूल पार्टीतिर फर्किएका थिए । उनी रोल्पा (क) बाट माओवादीका प्रदेशसभाका उम्मेदवार हुन्।
प्रदेश ६
नरेश भण्डारी
प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्ला (ख) निर्वाचन क्षेत्रबाट भण्डारी प्रदेशसभाको उम्मेदवार बनेका छन् । उनी ०६४ को संविधानसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए।
महेन्द्रबहादुर शाही
माओवादी केन्द्रको तर्फबाट वर्तमान सरकारमा बिनाविभागीय मन्त्री रहेका निवर्तमान ऊर्जामन्त्री महेन्द्रबहादुर शाही यस पटक कालिकोट (ख) बाट प्रदेशसभाको उम्मेदवार भएका छन् । ०७० सालको संविधानसभा चुनावमा उनी कालिकोट १ बाट निर्वाचित भएका थिए।
टेकबहादुर बस्नेत
बस्नेत ०७० सालको संविधानसभाको चुनावमा सल्यान १ बाट विजयी भएका थिए । उनी ०६४ सालको चुनावमा पनि विजयी भएका थिए । देउवा नेतृत्वको सरकारमा उनी माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री भएका थिए । उनले केही समय संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हालेका थिए।
प्रदेश ७
तारामान स्वाँर
अछाम १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरेका स्वाँर त्यहाँबाट टिकट नपाउने भएपछि प्रदेशसभाको लागि उम्मेदवार हुने र मुख्यमन्त्रीमै दाबेदारी गर्ने तयारीमा छन्।
वीरमान चौधरी
चौधरी ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा कैलाली ३ बाट विजयी भएका थिए । प्रतिनिधिसभाका लागि उम्मेदवार नबनाइए उनले प्रदेशसभामा उठेर मुख्यमन्त्री ताक्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।